कोरोनाभाइस विरुद्धको खोप लगाएको प्रमाणपत्र अथवा ‘खोप राहदानी’ भनिएको आधिकारिक कागजपत्रले मानिसहरूलाई विदेश यात्रा गर्दा आफू सुरक्षित रहे नरहेको प्रमाण पेस गर्न सजिलो तुल्याउँछ भनेर तर्क गरिँदैछ ।
संसारका विभिन्न देशमा कस्ता प्रावधान?
ग्रीसमा प्रधानमन्त्रीले कोभिड खोप लगाएका मानिसहरूलाई एक प्रमाणपत्र जारी गर्न भनी युरोपेली आयोगलाई आग्रह गरेका छन् । त्यस्तो दस्तावेजले ‘खोप लगाइसकेका मानिसहरूलाई स्वतन्त्रतापूर्वक खुला रूपमा ओहोरदोहोर गर्न सहज तुल्याउँछ ।’
एस्टोनिया र संयुक्त राष्ट्रसंघिय स्वास्थ्य निकायले खोप लगाएको भन्ने जनाउने विद्युतीय प्रमाणपत्र, इ–भ्याक्सिनेशन सर्टिफिकेट तयार पार्दै छन्। त्यसलाई ‘स्मार्ट एलो कार्ड’ भनिनेछ ।
डेनमार्कले डिजिटल खोप पासपोर्ट बनाउँदैछ र त्यसको प्रयोग गरेर त्यहाँका नागरिकहरूले आफूले खोप लिइसकेको प्रमाणित गर्न सक्छन् ।
स्पेनले कोरोनाभाइरस खोप लिन अस्वीकार गरेकाहरूको एक सूची तयार पार्दैछ । त्यस्तो सूची युरोपेलीसँगलाई पनि दिइनेछ ।
यसबाट कसैको पनि नाम झुक्किएर खोप प्राप्त गरेकाहरूको सूचीबाट नछुटोस् भनेर यकिन गर्न सकिने त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।
पर्यटन उद्योगको प्रतिक्रिया कस्तो ?
पचास वर्षभन्दा बढी उमेरमा मानिसहरूलाई घुमफिर गर्न सहयोग पुर्याउने व्यापारिक संस्था (सागा) का अनुसार सन् २०२१ मा तिनीहरूले आयोजना गर्ने छुट्टीको कार्यक्रम र क्रूज जहाज यात्रामा सहभागी हुन चाहनेहरू सबैले कोरोनाभाइरस विरुद्धको खोप लिएकै हुनुपर्छ ।
अस्ट्रेलियाको विमानसेवा क्वोन्टसले अन्ततोगत्वा उक्त कम्पनीको विमानबाट यात्रा गर्न चाहनेहरूले कोभिड खोप लगाएको भन्ने प्रमाण प्रस्तुत गर्नुपर्नेछ जनाएको छ ।
तर विश्व यात्रा तथा पर्यटन परिषद्का अनुसार अन्तर्राष्ट्रिय यात्रा पुनः सञ्चालन गर्नका लागि अपनाउनुपर्ने रणनीतिमा ककसले खोप लगायो भनेर प्राथमिकता निर्धारण गर्नुभन्दा पनि कोरोनाभाइरस परीक्षण गर्नुपर्ने योजनामा जोड दिइनुपर्छ ।
खोप लगाएको प्रमाण भए प्रतिबन्धात्मक नियमहरू पालना गर्नुपर्छ ?
यूकेको हकमा यसको उत्तर सोझो छः खोप लगाएकाहरूले पनि लकडाउनको नियम पालना गर्नुपर्छ । स्वास्थ्यमन्त्री म्याट ह्यान्कक भन्छन् ‘सबैले खोप लगाइसकेपछि पनि लकडाउनका बेला लगाइएका नियमहरूको पालना गर्न आवश्यक छ ।’ कोरोनाभाइरस संक्रमणको संख्या घटाउन र आफैंलाई सुरक्षित राख्न त्यसो गर्नु आवश्यक छ ।
तर व्यापक रूपमा खोप कार्यक्रम सञ्चालन भइसकेपछि जनसंख्याको सबै वा केही थोरैलाई भए पनि सामान्य अवस्थामा फर्कन दिइन सकिने हुनसक्छ ।
अक्सफर्ड विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार अक्सफर्ड र आस्ट्राजेनेका खोपले कोरोनाभाइरस संक्रमणको अवस्थामा ‘उल्लेखनीय’ प्रभाव पार्न सक्छ ।
बिबिसी