काठमाडौं । चालू आर्थिक वर्षभित्र शुरू गर्ने भनिएको फास्ट ट्रयाक (द्रुत मार्ग) अन्तर्गतको २ वटा टनेल निर्माणको काममा ढिलाइ हुने भएको छ ।
आगामी वैशाखदेखि शुरू गरिने भनिएको टनेल निर्माणका लागि कम्पनी छनोटको चरणमा रहेको छ । झण्डै दुई महिना बित्न लाग्दा समेत कम्पनी सर्टलिस्टबाट छनोट हुन सकेको छैन ।
नेपाल सेनाका प्रवक्ता सन्तोष बल्लब पौडेलले सो ठेक्काको फाइल इन्जिनीयरिङ प्रोक्यूमेन्ट कन्ट्रयाक्ट (ईपीसी) का लागि बुझाइएको बताए । पुस १९ गते बुझाइएको सो फाइल हालसम्म स्वीकृत नहुँदा ढिलाई हुने देखिएको उनले बताए ।
पीपीएम (पब्लीक परमिट म्यानेजमेन्ट) बाट सो फाइल स्वीकृत भएपछि छनोट भएका कम्पनीलाई काम हस्तान्तरण गरिने उनले बताए । ‘फाइल पीपीएमबाट स्वीकृत भएको छैन, २ महिना हुन लाग्दा समेत स्वीकृत नहुँदा अन्य प्रकृयामा ढिलाइ हुने देखिएको हो,’ बल्लब पौडेलले चाणक्य पोष्टसँग भने ‘टनेल बाहेकका कामहरू भइरहेका छन् ।’

सो फाइल स्वीकृत भएर आएपछि सर्टलिस्टमा परेका कम्पनीलाई ४५ दिनको म्याद सहित ठेक्का सम्झौता गरिने छ । सेनाले सो फाइल छिट्टै स्वीकृत भएर आउने अनुमान गरेको छ । सो कागज पीपीएमबाट सचिवालयमा जाने अथवा क्याबिनेटमा जाने अझै टुंगो छैन ।
पछिल्लो समय चुनावी कारणले समेत फास्ट ट्रयाकको टनेल निर्माणमा केही असर पर्ने देखिएको छ । हाल प्रि क्वालीफकेसनको बोलपत्र आह्वानमा २ वटा कम्पनी सर्टलिस्ट भित्र परेका छन् । दुई लेनको टनेलका लागि बोलपत्र आह्वान भएको हो । टनेललाई दुई चरणमा विभाजन गरी निर्माण गरिने छ । २ वटा प्याकेजमा बोलपत्र आह्वान भएको थियो । पहिलो प्याकेजका लागि चाइना स्टेट कन्ष्ट्रक्सन कम्पनी र पोलि चङडा इन्जिनीयरिङ सर्टलिस्टमा परेको छ ।
दोस्रो प्याकेजका लागि पोलि चङडा इन्जिनीयरिङ कम्पनी नै सर्ट लिस्टमा परेको छ । यो बोलपत्र टनेल बनाउने कम्पनीहरूको प्रि क्वालिफिकेसनका लागि आह्वान गरिएको हो । प्रि क्वालिफिकेसन मार्फत सो कम्पनी टनेल बनाउन योग्य भए नभएका विषयलाई अध्ययन गरिन्छ । सो अध्ययन पछि टनेल बनाउन योग्य कम्पनीहरूलाई सर्ट लिस्टमा राखिन्छ ।
यस टनेल बनाउन प्रि क्वालिफिकेसन लागि ४३ वटा कम्पनीहरूले डकुमेन्टहरू पठाएका थिए । सो मध्य २१ वटा कम्पनीले पहिलो प्याकेजका लागि प्रस्ताव गरेका थिए । २२ वटा कम्पनीहरूले दोस्रो प्याकेजका लागि प्रस्ताव पेस गरेका थिए । ती मध्ये १४ वटा कम्पनीले दुवै प्याकेजका लागि प्रस्ताव गरेको पौडेलले बताए ।
उनले सो आवेदन आएका कम्पनीहरूको दक्ष जनशक्ति, निर्माण सामग्री, अनुभव, टर्नओभर लगायतका सबै जानकारी हेरेर सर्टलिस्टमा राखिएको बताए । उनले सो कम्पनीहरू सर्ट लिस्टमा परे पनि अझै उनीहरूले नै निर्माण गर्ने कन्फर्म नहुने बताए । अबको चरणमा १० दिनभित्र अर्को बोलपत्र आह्वान गरिने छ । जसमा सेनाले कानुनी परिक्षण प्रस्ताव गर्नेछ । ४५ दिनमा सो कम्पनीले सबै प्रकारका माग गरिएका डकुमेन्टहरू पठाउनु पर्नेछ । सो डकुमेन्ट सेनाले मूल्यांकन गरी मापदण्ड अनुसार प्रकृया पूरा भएको खण्डमा सम्भलौता गरी मोबिलाइजेसन गर्ने छ ।

कुल ७२.५ किलोमिटर लम्बाइ सडकखण्ड मध्ये (३ वटा सुरूङमार्ग ६.४१ किमी र पुलहरूको लम्बाई १०.५९ किमी) बाहेका ५५.५ किलोमिटर सडक खण्ड निर्माण गर्नुपर्ने हुन्छ । त्यसमध्ये अहिलेसम्म ४४. १ किलोमिटर सडक खण्डमा माटो, ढुंगा काट्ने र भर्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ । यसकाममा लागि अहिलेसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
राष्ट्रिय परामर्शदाता छनोट भई सुचारु गरिएको सो अध्ययन कार्य सम्पन्न गरिएको हो । जियो टेक्नीकल इन्भेष्टमेन्ट अन्तर्गत महादवटारमा ९, धेद्रेमा ५ र लेनडाँडामा ४ गरी कुल १८ स्थानमा ड्रिलिङको काम अन्तिम चरणमा रहेको छ ।
ड्रिलिङ कार्य सम्पन्न भएका स्थानको स्यामपलहरूको परीक्षण गर्ने कार्य समेत शुरू भइसकेको छ । अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार थप ड्रिलिङ तथा परीक्षण गर्ने कार्य भइरहेको छ । शुरूङ मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न प्रिक्वालिफिकेसन आह्वान गरिएको छ ।