काठमाडौं । बैंकिङ क्षेत्रमा चमक आउँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । यसअघि माइक्रोफाइनान्स र बीमा कम्पनीमा झुम्मिएका लगानीकर्ता बैंकको सेयरमा शिफ्ट हुँदा नेप्सेले नयाँ रेकर्ड बनाएको हो ।
सोमबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।
नेप्सेले २६०१ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २६०० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि सोमबार नेप्सेले इतिहासकै उच्च २५८६.०१ विन्दु पार गरेको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सेयर बजार सम्बन्धी विद्यमान कुनै पनि व्यवस्था परिवर्तन नगरेसँगै लगानीकर्ता उत्साहित हुँदा सोमबार बजारमा ९२ अंकको उछाल आएको थियो ।
यस्तै, नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन लगानीकर्ताको सम्पत्ति २४ अर्बले बढेर बजार पूँजीकरण पौने ३६ खर्ब पुगेको छ । यो हालसम्मकै धेरै हो । नेप्सेका अनुसार मंगलबार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ३५ खर्ब ८४ अर्ब पुगेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १५.५० अंकले बढेर २६०१.५१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् ।
सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ वटा समूहको परिसूचक राताम्मे भएका छन् । बैंकिङ समूह सबैभन्दा धेरै ३८.४१ अंकले बढेको छ भने उत्पादनमूलक समूह सबैभन्दा धेरै १११.०४ अंकले घटेको छ ।
कारोबारमा आएका २०८ कम्पनीमध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ताको रोजाइमा नबिल बैंक परेको छ । यसको सबैभन्दा धेरै ५४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा ग्लोबल आइएमई ४२ करोड र नेपाल ३९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा मंगलबार आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलप्मेन्ट बैंक, सनराइज फर्स्ट म्युचुअल फण्ड र हिमालयन ऊर्ज कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज साधना लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.१५ प्रतिशत गुमाएका छन् ।