काठमाडौं । ललितपुरस्थित भैँसेपाटीमा अत्याधुनिक मन्त्री निवास (क्वाटर) निर्माणको काम धमाधम भइरहेको छ । बीचमा कोरोनाका कारण केही सुस्त भएको मन्त्री निवासको कामले अहिले गति लिएको हो ।
२०७६ असोजदेखि निर्माण शुरु भएको मन्त्री निवास निर्माणको काम १६ महिनामा करिब ३५ प्रतिशत पूरा भएको आयोजना प्रमुख प्रमोद कर्मचार्यले जानकारी दिए । उनका अनुसार अहिले मन्त्री निवास निर्माणका क्रममा २७ वटा भवनको ढलान पूरा हुने क्रममा रहेको छ । हाल वाल लगाउने, इँट्टा लगाउने काम र फर्मको काम भइरहेको आयोजना प्रमुख कर्मचार्यले बताए ।
आयोजनाको आर्थिक तर्फ १८ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । उनले २ वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी तीव्र्र गतिमा काम भइरहेको बताए । चाँडै जनशक्ति समेत थपेर निर्माणलाई गति दिने तयारीमा रहेको उनले बताए ।
एकै आयोजना अन्तर्गत धेरै भवन निर्माणका कार्य रहेकाले एउटा÷एउटा गर्दा समय लाग्ने भएकाले जनशक्ति थप गरेर सबै भवनमा जनशक्ति खटाए एकै साथ पूरा हुने उनले बताए । ‘अहिले भएको जनशक्तिले समयमा काम पूरा हुन मुश्किल छ, अब केही जनशक्ति थपेर सबै भवनको निर्माणलाई तोकिएको २ वर्षभित्रै सक्ने तयारीमा छौँ,’ प्रमुख कर्मचार्यले चाणक्य पोष्टसँग भने ।
निर्माण स्थलमा हाल १५० बढी जनशक्तिले काम गर्दै छन् । यसमा १०० जना हाराहारीमा जनशक्ति थपेर काम गरिने उनले बताए । कोभिडका कारण लकडाउनमा झण्डै ९ महिना निर्माणले गति लिन सकेको थिएन । सो समयमा थोरै मात्र काम भएको थियो ।
संघीय मन्त्री निवासको २०७६ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैसैंपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरु समेत रहने छ ।
दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १२४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनीधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।
दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । यहाँ सातवटा ब्लक रहेको छ । प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरु साडे दुई तलाको बन्नेछन् ।
संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४३७ रुपैयाँ (भ्याटसहित) रहेको छ । यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ । त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ ।
सम्झौता बमोजिम मन्त्रीहरुको निवास २४ वटा, राष्ट्रिय सभाको अध्यक्षको निवास १, राष्ट्रिय सभाको उपाध्यक्षको निवास १, उपसभामुखको निवास १, इन्टरनल रोड नेटओर्क, बहुउद्देशिय सभाहल १, डीयूडीबीसी कार्यालय भवन १, हेल्थ क्लब १, स्वीमिङपुल १, हेलिप्याड, सुरक्षा जवानहरुको निवास र वाटर ट्याङ्क निर्माण गरिने छ ।