काठमाडौं । पछिल्लो समय सेयर बजारमा निरन्तर वृद्धि आएसँगै खर्बपति नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण पनि उल्लेख्य रुपमा बढेको छ ।
बजारमा उछाल आउँदा कम्पनीहरुको सेयर मूल्य निरन्तर बढ्दा १ खर्ब बजार पूँजीकरण हुने कम्पनीको संख्या ७ पुगेको छ ।
सोमबार एनआइसी एशियाको सेयर मूल्य करिब ८ प्रतिशतले बढेसँगै यो पनि खर्बपति क्लबमा प्रवेश गरेको छ । योसँगै ग्लोबल आइएमई बैंक खर्ब बढी पूँजीकरण हुने तेस्रो बैंक बनेको छ भने समग्रमा सातौं कम्पनी बनेको छ ।
कात्तिकसम्म नेपाली सेयर बजारमा १ खर्ब बढी बजार पूँजीकरण हुने कम्पनीको सख्या एउटा मात्र रहेको थियो भने पछिल्लो ३ महिनामै त्यो संख्या बढेर ७ पुगेको छ ।
कात्तिकसम्म नेपाल टेलिकमको मात्र बजार पूँजीकरण १ खर्ब बढी रहेकोमा पछिल्लो समय नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंक खर्बपति क्लबमा प्रवेश गरेका हुन् ।
यस्तै, केही कम्पनीको पूँजीकरण १ खर्ब नजिक पुग्न लागेको छ भने सेयर मूल्य निरन्तर बढे आगामी दिनमा अरु कम्पनी पनि खर्बपति क्लबमा प्रवेश गर्ने सम्भावना देखिन्छ ।
नेप्सेमा सूचीकृत सवा २ सय कम्पनीमध्ये खर्बपति क्लबमा रहेका यी ७ कम्पनीले मात्रै कुल बजारको झन्डै एक तिहाई हिस्सा ओगटछन् । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल पूँजीकरण ३५ खर्ब ६३ अर्ब ३९ करोड रहेकोमा यी ७ कम्पनीको मात्र १० खर्ब ५७ अर्ब रहेको छ । कुल बजार पूँजीकरणको ३० प्रतिशत हो ।
पूँजीकरणका आधारमा सेयर बजारको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम हो । यसको बजार पूँजीकरण २ खर्ब ३ अर्ब रहेको छ भने २ खर्ब बढी पूँजीकरण हुने एउटा मात्रै कम्पनी हो ।
दोस्रो ठूलो कम्पनीको रुपमा नबिल बैंक रहेको छ । यसको बजार पूँजीकरण १ खर्ब ७८ अर्ब रहेको छ । यस्तै, पूँजीकरणका आधारमा नेपाल लाइफ १ खर्ब ६७ अर्ब तेस्रो, पुनर्बीमा कम्पनी १ खर्ब ६० अर्ब चौथो, नागरिक लगानी कोष १ खर्ब ४० अर्ब पाँचौं र १ खर्ब ६ अर्बसहित एनआइसी एशिया छैटौं ठूलो कम्पनीका रुपमा रहेका छन् ।