महिला लघुवित्तको आइपीओमा ५० गुणा बढी आवेदन, आजसम्म कतिले भरे ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा करिब ५० गुणा बढी आवेदन परेको छ ।

 

विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङका अनुसार सोमबार ५ बजेसम्म १२ लाख १ हजार ८९० आवेदकले १ करोड ८५ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४९.४ गुणा बढी हो ।

 

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

निष्काशन भएको कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

लघुवित्तको आइपीओमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको ४ करोडको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।

 

लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो ।लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।

 

कति कित्ता भर्नु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ३ लाख ७५ हजार कित्ता छुट्याएको छ । अहिलेसम्म १२ लाख बढीले आवेदन दिइसकेको छन् ।

 

सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण Read Previous

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

ग्लोबल आइएमई बैंक पनि खर्बपति क्लबमा प्रवेश, यी हुन् सेयर बजार ७ खर्बपति कम्पनी Read Next

ग्लोबल आइएमई बैंक पनि खर्बपति क्लबमा प्रवेश, यी हुन् सेयर बजार ७ खर्बपति कम्पनी