इन्फ्रास्ट्रक्चर बैंक सेयर किन्नेको ओइरो, १४ लाख कित्ता माग हुँदा बेच्ने शून्य

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक दोस्रो बजारमा सेयर कारोबार शुरु भएसँगै सेयर किन्नेको ओइरो लागेको छ ।

 

शुक्रबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आएको हो । ३४० रुपैयाँ कारोबार खुलेको कम्पनीको प्रिसेसनमै करिब ८ हजार कित्ता कारोबार भएको थियो भने बजार खुलेको १५ मिनेटमै २३ हजार कित्ता सेयर कारोबार भएको छ ।

 

बजार खुल्ने बित्तिकै पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर किन्न चाहनेको भीड लागेको छ । ११ः१५ बजेसम्म बैंकको करिब १४ लाख कित्ता भन्दा बढी सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन ।

 

सर्वसाधरणतर्फको ८ करोड कित्ता सेयर भए पनिविक्रीकर्ता शून्य रहेकाले बैंकको सेयर भाउ अझै बढ्ने सम्भावना देखिन्छ ।

 

कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।

 

बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओमा कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । सोमध्ये ६ हजार २७६ आवेदन रद्द भएका थिए भने सदर भएका १४ लाख ७५ हजार ८ जनाले सेयर हात पारेका थिए ।

 

जसमा ५० कित्तासम्म आवेदन दिनेले मागे जति सेयर पाएका थिए भने सोभन्दा बढी माग गर्नेले गोलाप्रथाबाट ६० कित्ता सेयर पाएका थिए । ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता, ८ लाख ८१ हजार ८७० जनाले ५० कित्ता र ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ता पाएका थिए।

 

हाल १२ अर्ब चुक्ता पूँजी रहेको बैंकको आइपीओ पछि चुक्ता पूँजी २० अर्ब पुगेको छ ।

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो अघिल्लो वर्षकोभन्दा ६ प्रतिशत कम लाभांश Read Previous

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो अघिल्लो वर्षकोभन्दा ६ प्रतिशत कम लाभांश

रिचार्जरको भ्यालेन्टाइन अफर, ५९९९ रुपैयाँमा पोखरा हेलिराइड Read Next

रिचार्जरको भ्यालेन्टाइन अफर, ५९९९ रुपैयाँमा पोखरा हेलिराइड