काडमाडौं । पछिल्लो समय पर्यटकलाई आकर्षित गर्न र सहज सुविधा दिने उद्देश्य देशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा धमाधम केबलकार निर्माण हुन थालेका छन् ।
अहिले करिब ७ अर्ब लगानीमा देशका डेढ दर्जनबढी स्थानमा केबलकार बन्न लागेका छन् । केही स्थानमा भौतिक पूर्वाधार निर्माणको काम समेत शुरु भइसकेको छ भने केही स्थानमा केबलकार बनाउन अध्ययनको काम भइरहेको छ ।
यसैक्रममा, रुपन्देहीको बुटवलदेखि पाल्पाको पर्यटकीयस्थल वसन्तपुर पुग्ने लुम्बिनी केबलकार निर्माण शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक कार्यक्रमबीच उक्त केबलकार निर्माणको शिलान्यास गरे ।
लुम्बिनी केबुलकार प्रालिले ३ अर्ब ५२ करोड लगानीमा उक्त केबलकार निर्माण गर्न लागेको हो । कुल ३ किलोमिटर लामो यस केबलकारले बुटवलको चिडियाखोलादेखि पूर्वी पाल्पाको बसन्तपुरसम्म जोड्ने छ ।
केबलकारको तल्लो स्टेशन बुटवल उपमहानगरपालिका–३ बम्घाटमा रहने छ भने माथिल्लो स्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा रहने छ । बटम स्टेशनदेखि टप स्टेशनसम्म पुग्न करिब १० मिनेट लाग्नेछ ।
आगामी १ वर्ष भित्र केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ । लुम्बिनी केबलकार मोनोकेबल डिट्याचेबल गोण्डोला प्रणालीमा बन्ने जनाइएको छ । उक्त केबलकार निर्माण भइसकेपछि दैनिक ६ हजार यात्रुलाई सेवा दिने जनाइएको छ ।
लुम्बिनी केबलकार कम्पनीमा आइएमई समूह, चन्द्रागिरी हिल्स, हाथवे इन्भेष्टमेन्ट, शर्मा एण्ड कम्पनीका रमेश शर्मा, अम्बिकाप्रसाद पौडेल लगायत प्रमुख लगानीकर्ताको रुपमा छन् ।आइएमई ग्रूपले यस अघि काठमाडौंको चन्द्रागिरीमा केबलकार संचालनमा ल्याइसकेको छ ।
लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र तथा बुद्ध जन्मथलनिकट रहने यो केबलकारले नेपालको आन्तरिक तथा वाह्य पर्यटनको विकास र विस्तारको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अहिले देशभर ३ वटा केबलकार संचालनमा छन् । हाल गोरखाको मनकामना, काठमाडौंको चन्द्रागिरी र दोलखाको कालिञ्चोकमा केबलकार संचालन भइरहेका छन् ।
वन क्षेत्र २५ वर्ष प्रयोग गर्न सरकारको अनुमति
संघीय सरकारले लुम्बिनी केबुलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको ३ किलोमिटर बीचमा पर्ने वन क्षेत्र २५ वर्षसम्म प्रयोग गर्न पाउने गरी स्वीकृति दिएको छ ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले केबलकार निर्माण क्षेत्रभित्र पर्ने ६.२७ हेक्टर वन क्षेत्र २५ वर्षसम्मका लागि भोगाधिकार गर्न स्वीकृति दिएको थियो ।
सरकारले पाल्पाको तिनाउ गाउँपालिका–३ को चिउरीडाँडा न्याउली सामुदायिक वनको ३.११ हेक्टर र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ को चुरे सामुदायिक वनको ३.१६ हेक्टर गरी कुल ६.२७ हेक्टर वन क्षेत्र भोगाधिकार गर्न केबलकार कम्पनीलाई अनुमति दिएको हो ।
उक्त वन क्षेत्रमा १ हजार ३३८ वटा रुखहरु कटान गर्न समेत अनुमति दिइएको जनाइएको छ ।सरकारले रुख कटानका लागि समेत अनुमति दिएकाले अब धमाधम निर्माण कार्य शुरु हुने निर्माण कम्पनीले जनाएको छ ।