काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्रीमा ल्याएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गरेको हो ।निष्काशन भएको कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।
लघुवित्तको आइपीओमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
सञ्चालनमा आएको २ वर्षमा ५३ शाखा विस्तार
यस लघुवित्त २०७५ जेठ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो भने २०७५ असोज २२ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित पाएको थियो।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको लघुवित्तले २०७५ कार्तिक १ गते देखि औपचारिक रुपमा कारोबार गरेको थियो । सञ्चालनमा आएको २ वर्षको अवधिमा लघुवित्तले २९ जिल्लाहरुमा आफ्नो शाखासञ्जाल विस्तार गरेको छ । हाल २९ जिल्लाका ५३ शाखा कार्यालयहरु र ५ वटा सुपरिवेक्षण तथा निरीक्षण कार्यालयमार्फत कारोबार गर्दै आएको छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
२० करोड अधिकृत पूँजी रहेको लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न कम्पनीले ४ रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ६० प्रतिशत रहेको छ भने सर्वसाधराणको हिस्सा ४० प्रतिशत रहने छ ।
लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो ।लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।
गत आर्थिक वर्ष २०७६/७७ सम्म ९ करोड ३५ लाख रुपैयाँ सञ्चित नाफा रहेको लघुवित्तले आव २०७९/८० सम्ममा सञ्चित नाफा ३१ करोड ४९ लाख ५२ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ।
लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्था मध्यम रहेको जनाउँछ ।
को-को छन् प्रमोटरसेयर होल्डर ?
लघुवित्तमा विभन्न १७ व्यक्ति तथा संस्था संस्थापक सेयरधनीका रुपमा रहेका छन् । जसमा ५ संस्था तथा व्यक्तिको मात्रै ५ करोड बराबरको सेयर हिस्सा रहेको छ ।

लघुवित्तको सबैभन्दा ठूलो सेयरधनीको रुपमा डा. ईमानसिंह गुरुङ्ग रहेका छन् । उनको सेयर हिस्सा कुल चुक्ता पूँजीको १४.५० प्रतिशत रहेको छ । उनको लघुवित्तमा १ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता सेयर रहेको छ ।
यसैगरी, लघुवित्तमा माछापुच्छे बैंकको १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर स्वामित्व छ । जुन कुल चुक्ता पूँजीको १४ प्रतिशत हो ।
यसैगरी, लघुवित्तको प्रमोटर सेयर होल्डरको रुपमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली कुमारी महत्तोको १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता, महिला अधिकार तथा विकास केन्द्रको ५५ हजार कित्ता, निरु कथुनी राईको ४५ हजार कित्ता र अन्य विभिन्न व्यक्तिहरुको १ करोड ५ लाख रुपैयाँ को सेयर रहेको छ ।