क्यान्सरका बिरामीलाई वाग्मती प्रदेश सरकारले उपचार गर्न ५० हजार दिने

काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई ५० हजार रुपैयाँ उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले १ लाख रुपैयाँ उपचार सहयोग गर्दै आएको थियो ।

 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता भएको छ ।

 

उनका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा सरकारले दिँदै आएको १ लाखमा प्रदेश सरकारले थप रु ५० हजार उपलब्ध गराउने भएको हो । सङ्घीय सरकारको रकम सकिएपछि प्रदेश सरकारको रकम खर्च गरिनेछ । प्रदेशभित्रका स्थायी बासिन्दालाई मात्र यो सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

 

उनका अनुसार प्रदेशले यो सुविधाका लागि चालू आर्थिक वर्षमा ७ करोड विनियोजन गरेको छ । यस अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीमध्ये ४० प्रतिशत हाराहारी वाग्मती प्रदेशका जनता हुने गरेका छन् । थप सहयोग पाएसँगै बिरामी र तिनका परिवारलाई राहत पुग्ने उनको भनाइ छ ।

 

क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ । निजीमा उपचार गर्न खर्चका कारण जो कोहीलाई कठिन हुने गर्दछ । सरकारीमा समेत उपचारका लागि आवश्यकपर्ने उपकरण, औषधिलगायत महङ्गो पर्ने भएकाले उपचार खर्चिलो हुने गर्दछ ।

सिभिल बैंकको नगदरहित अभियान शुरू, मन्दिरको भेटीदेखि टेम्पूको भाडासम्म क्युआर मार्फत भुक्तानी Read Previous

सिभिल बैंकको नगदरहित अभियान शुरू, मन्दिरको भेटीदेखि टेम्पूको भाडासम्म क्युआर मार्फत भुक्तानी

४ करोडको आइपीओ ल्याएको महिला लघुवित्तमा मन्त्रीदेखि बैंकसम्मको लगानी, यस्तो छ वित्तीय अवस्था Read Next

४ करोडको आइपीओ ल्याएको महिला लघुवित्तमा मन्त्रीदेखि बैंकसम्मको लगानी, यस्तो छ वित्तीय अवस्था