काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आगामी साता बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक बीओके क्यापिटलका आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ । यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार सम्भवतः आगामी बुधबारसम्म आइपीओ बाँडफाँट गर्ने गरी तयारी भइरहेको छ ।
कम्पनीले माघ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको छ ।
सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।
उक्त आइपीओमा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा १३ लाख ३७ हजार ९४२ जनाले आवेदन दिएका छन् । उनीहरुले कुल २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।
सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गरेको हो ।