कोरोनाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् ।

 

कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

 

मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगहरुको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२.४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको र २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ ।

 

उक्त अध्यनमा गरगहना, रंगरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाँडा, जलुविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो ।

 

अध्यनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए ।

 

यसैगरी, अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६.४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ती गर्न कठिनाइ भएको र ८८.२४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए ।

 

यसैगरी, ८७.५ प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए । ८७.५ प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए ।

 

यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए । ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए ।

 

कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६.२२ प्रतिशत मात्र नाफामा थिए । नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूला उद्योग रहेका थिए ।

पूर्वाधारमा लगानी गर्न एनआरएनले १० अर्बको कोष सञ्चालनमा ल्याउँदै, आइपीओ पनि आउने Read Previous

पूर्वाधारमा लगानी गर्न एनआरएनले १० अर्बको कोष सञ्चालनमा ल्याउँदै, आइपीओ पनि आउने

कहिले हुँदैछ ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट ? Read Next

कहिले हुँदैछ ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट ?