काठमाडौं । सेयर बजारमा सुधार आएको छ । मंगलबार करिब २९ अंकले घटेको बजारमा आज सामान्य सुधार आएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम करिब ५० करोडले घटेको छ । यस साताका शुरुका दुई दिन लगातार दैनिक साढे १० अर्बको कारोबार भएको पछिल्ला दुई दिन घट्दो क्रममा रहेको छ ।
प्रफिट बुक गर्ने हाबी हुँदा कारोबार रकममा गिरावट आएको लगानीकताको आँकलन छ । एकैचोटी ह्वात्तै कारोबार नघटेकाले आँत्तिहाल्नु पर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।
आज सेयर बजार मापक सूचक नेप्से ८.६६ अंकले बढेर २५४३.०३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १९१ कम्पनीको ७ अर्ब ६२ करोड ८१ लाख १३ हजार ५८७ रुपैयाँ बराबरको १ करोड ४८ लाख ७६ हजार ९६१ कित्ता सेयर किनबेच भएका छन् ।
बुधबार कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने बाँकी ७ समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६२.१५ अंकले बढेको छ भने जीवन बीमा समूह ११५.५९ अंकले घटेको छ ।
कारोबारमा आएका १९१ कम्पनीमध्ये जम्मा ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ताको रोजाइमा ग्लोबल आइएमई बैंक परेको छ । यसको सबैभन्दा धेरै ५२ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा प्रभु बैंक ४७ करोड र कुमारी बैंक ३७ करोडसहित शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा सबै फाइनान्स कम्पनी छन् । गोर्खा, गुह्येश्वरी मर्चेन्ट र आइसीएफसी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज साधना लघुवित्तका सेयरधनीले भने सबैभन्दा धेरै ६.३८ प्रतिशत गुमाएका छन् ।