‘ग्रीन गोल्ड’ एभोकाडोको विश्व बजारमा अधिक माग, नेपालमा भने खेतीलाई प्रोत्साहन गर्ने नीति नै छैन

काठमाडौं । नेपाल कृषि प्रधान देश हो भनिए पनि अर्बौं रुपैयाँ बराबरको खाद्यान्न आयात गरेर खाने गर्दा अब नेपालको राज्य सत्तालाइ लाज लाग्न छाडेको छ । कृषिमा आत्मनिर्भर अर्थतन्त्रको हल्ला गर्ने तर चामल समेत आयात गरेर खाने अनि नेपाललाई पुग्ने चामल यहीँ कसरी उत्पादन गर्ने भनेर छलफलै नगर्ने नेपालका सरकारका रवैया नयाँ होइन ।

 

हालै विद्धान मानिएका मानिस नेपालको कृषि मन्त्री भएका थिए । तर उनको कार्यकालमा पनि नेपालको कृषि क्षेत्रमा विद्यमान संरचनागत समस्याहरू हल हुन त परै जाओस ती सकस्याहरू के हुन् भन्ने विषयमा समेत सार्थक छलफल चलेन । अरु त अरु आफूसँग पैसा भएको र विश्व बजारमा मल भएको अवस्थामा समेत कृषि मन्त्रालय मल ल्याएर कृषकहरूलाइ बाँड्न असफल भयो ।

 

समुन्द्री सतहदेखि २५०० मिटरको उचाइसम्म एभोकाडोको खेती गर्न सकिने भएकाले नेपालमा यसको उत्पादन गर्न सक्ने सम्भावना प्रचुर छ । विश्व बजारमा समेत एभोकाडोको माग अधिक रहेकाले सरकारले ठोस नीति तथा कार्यक्रम बनाइ यसको खेतीलाई प्रोत्साहन गर्न सकेमा कृषका साथै राज्यले पनि ठूलो आर्थिक लाभ लिन सक्ने देखिन्छ ।

 

नेपालमा परम्परागत खेती गरेर र धान, मकै, गहुँ इत्यादी मात्र उत्पादन गरेर कृषि क्षेत्रको विकास हुँदैन र कृषकहरू धनी हुँदैनन् भन्ने तथ्य अब स्थापित भइसकेको छ । अब कहिल्यै आर्थिक रुपमा सम्पन्न नहुने पेशामा कोही कृषक किन लागोस् ? कस्ता कृषि उपजहरूको खेती गरेर कृषकहरूको आर्थिक अवस्था उकास्न सकिन्छ र देशको समेत आर्थिक विकासमा टेवा पुग्छ भनेर सरकारले कृषकहरूलाइ सूचित पनि त गरेको छैन !

 

त्यस्ता खाले विषयमा बहस भएको छैन । नीतिहरू बनेका छैनन् । विश्वका अन्य देशहरूको उदाहरणबाट सिक्ने र बदलिँदो आर्थिक र सामाजिक परिस्थिति सँग अद्यावधिक रहने पनि चलन छैन । नत्र कृषिबाटै र अझ एउटै उत्पादनको माध्यमबाट धेरै कृषकहरूको आर्थिक उन्नती हुने मुलुककै आर्थिक वृद्धिमा टेवा पुग्ने उदाहरण त प्रशस्तै भेटिन्छन् विश्वमा ।

 

‘ग्रीन गोल्ड’ (हरियो सुन) भनेर चिनिने एभोकाडोको खेती एउटा त्यस्तै उदाहरण हो । मानव शरिरलाइ आवश्यक पर्ने पौष्टिक तत्वहरू प्रचुर मात्रामा पाइने यो फलको माग अहिले ह्वात्तै बढेको छ विश्व बजारमा । विश्वभर मानिसहरूको आर्थिक अवस्था उक्लदै गर्दा मानिसहरू अब स्वास्थ्य प्रति धेरै सचेत हुन थालेका छन् । त्यसैले विशेषगरी युरोप र अमेरिकाका मानिसहरू बिहान पाउरोटीसँग र अन्य समयमा सलाद इत्यादीको रुपमा एभोकाडोको उपभोग अत्याधिक गर्न थालेका छन् । त्यसैले केही दशकयता यो फलको उत्पादन र खपतमा तिव्रता आएको छ ।

 

विश्वमा सबैभन्दा बढी एभोकाडोको उत्पादन मेक्सिकोले गर्दै आएको छ । अहिले विश्व बजारमा वार्षिक रुपमा १५ अर्ब डलरभन्दा बढीको एभोकाडो खपत हुने गरेको छ । यसमा मेक्सिकोले मात्र ३.५ अर्ब डलर हाराहारीको एभोकाडो उत्पादन गर्दै आएको छ । दुई दशक अघिसम्म अमेरिकाले मेक्सिकोको एभोकाडो खरिद गर्दैनथ्यो । तर सन् १९९७ को व्यापार सम्झौताले बाटो खुल्ला गरेपछि मेक्सिकोको उत्पादन अमेरिकामा व्यापक रुपमा खेती हुन थालेको हो ।

 

अहिले एभोकाडोको अत्याधिक उपभोग गर्ने देशहरूमा अमेरिका, युरोपियन युनियन, क्यानडा, जापान, चीन र हङकङ रहेका छन् । यी मध्ये अमेरिकाले मात्र वर्षिक रुपमा ३ अर्ब डलर भन्दा बढिको एभोकाडो आयात गर्ने गरेको छ भने युरोपियन युनियनले पौने २ अर्ब डलर हाराहारीको एभोकाडो आयात गर्दै आएको छ । क्यानडाको आयात भने २० करोड डलर हाराहारी पुगेको छ ।

यसरी मेक्सिकोले एभोकाडोको उत्पादन र निर्यातमा व्यापक रुपमा सफलता हासिल गरेको भए पनि त्यसमा पछिल्लो समय केही विवाद उठ्न थालेका छन् । हरियो सुन भनेर चिनिने यो फलको खेती र त्यसबाट हुने आर्थिक लाभका कारण मेक्सिकोमा व्यापक रुपमा जंगल फडानी भइरहेको छ ।

 

जंगल फडानी गर्ने, त्यहाँको जैविक विविधता मास्ने अनी एभोकाडो खेती गरेर पैसा कमाउने प्रवृत्ति मौलाएपछि त्यसको विरोध हुन थालेको हो । यसका अलावा धेरै पैसाको चलखेल हुन थालेपछि त्यहाँका अपराधिक समूहहरू पनि लागुऔषधको व्यापार छाडेर यता आएका र अपराध मौलाएका कारण पनि यसको विरोध हुन थालेको हो । साथै, यो फलले अन्य बालीको तुलनामा अत्याधिक पानीको माग गर्ने हुनाले कतिपय ठाउँमा खडेरी पनि लाग्न थालेको छ ।

 

अहिले अमेरिकका र युरोपका पर्यावरण प्रति सचेत जनसमुदायहरू अब यस्ता क्रियाकलाप गरेर उत्पादन गरिएको एभोकाडो खपत गर्न नहुने भनेर आवाज उठाउन थालेका छन् । उनीहरूले दिगो खेतीबाट उत्पादित एभोकाडोमात्र खपत गर्नुपर्ने, दिगो खेतीको अन्तर्राष्ट्रिय सर्टिफिकेशनको प्रक्रिया शुरू गरिनुपर्ने बताउन थालेका छन् ।

 

यस्तो अवस्थामा दिगो ढंगले एभोकाडाको खेती गरेर पर्यावरण प्रति सचेत र धनी मुलुकका मानिसहरूको मन जित्न सके एउटै बालीले धेरै किसानहरूको आर्थिक उन्नति हुने र महङ्गो फल भएका कारण देशकै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्न सकिने अवस्थालाइ नकार्न सकिन्न । नेपालजस्तो देशको लागि राणनीतिक ढंगले अगाडि बढ्नको लागि यो राम्रो अवसर हो । तर नीति निर्माताहरूले यस्ता विषयमा छलफल अझै शुरू गरेका छैनन् ।

 

नेपालमा माग बढ्दो, तर उत्पादन वृद्धि गर्ने ठोस कार्यक्रम भने छैन

 

केही वर्षयता नेपालमा एभोकाडो देखिन थालेको छ । स्वास्थ प्रति सचेत मानिसहरू यो फलसँग रमाउन पनि थालेका छन् । फाट्टफुट्ट खेती पनि हुन थालेको छ ।

 

२०२८ सालमै सम्भाव्यता अध्ययनको क्रममा ब्रिटिसहरूले नेपालमा भित्र्याए पनि अहिलेसम्म आन्तरिक माग धान्न सक्ने उत्पादन गर्न सकिएको छैन । नेपालमा वार्षिक करिब २५ लाख किलो एभोकाडोको माग हुने भए पनि करिब ३ लाख किलोमात्रै आन्तरिक उत्पादन हुन्छ ।एकीन तथ्यांक नभए पनि हाल करिब १हजार २०० हेक्टर हाराहारीमा यसको खेती हुँदै आएको जनाइएको छ ।

 

नेपाली बजारमा यसको माग दिनप्रतिदिन बढ्दै गएको छ । तर, बजारमा माग बढ्दो भए पनि व्यावसायिक रुपमा उत्पादनका लागि सरकारले ठोस कार्यक्रम ल्याउन नसक्दा माग धान्न सकेको छैन । अहिले वार्षिक करिब ३० करोड रुपैयाँको एभोकाडो विदेशबाट आयात हुँदै आएको छ ।

 

नेपालमा वर्षेनी एभोकाडोको माग बढ्दै गएकाले यसको खेती गर्ने पनि क्रमशः बढ्दै गएको फलफूल विकास केन्द्रले जनाएको छ । सरकारले अहिलेसम्म आधिकारिक रुपमा कति क्षेत्रफलमा खेती हुन्छ भन्ने तथ्यांक नराखेको भए पनि यो वर्षदेखि तथ्यांक संकलन गर्न लागिएको फलफूल विकास केन्द्रकी सूचना अधिकारी यमकुमार श्रेष्ठले बताइन ।

 

उनले धनकुटालाई एभोकाडो जिल्ला बनाउने तयारीमा भएकाले सो जिल्लामा धेरै बीउ खरिद भइरहेको बताइन ।

 

समुन्द्री सतहदेखि २५०० मिटरको उचाइसम्म यसको खेती गर्न सकिने भएकाले नेपालमा यसको उत्पादन गर्न सक्ने सम्भावना प्रचुर छ । विश्व बजारमा समेत एभोकाडोको माग अधिक रहेकाले सरकारले ठोस नीति तथा कार्यक्रम बनाइ एभोकाडो खेतीलाई प्रोत्साहन गर्न सकेमा कृषका साथै राज्यले पनि ठूलो आर्थिक लाभ लिन सकिने देखिन्छ ।

सेयर बजार कमब्याक, यी कम्पनीका लगानीकर्ता भए मालामाल Read Previous

सेयर बजार कमब्याक, यी कम्पनीका लगानीकर्ता भए मालामाल

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, केमा कति रुपैयाँ बढ्यो ? Read Next

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, केमा कति रुपैयाँ बढ्यो ?