काठमाडौं । भुक्तानी सेवा प्रदान गर्ने पेवेल नेपाल प्रालिको उद्घाटन भएको छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले पेवेलको उद्घाटन गरेका हुन् ।
कम्पनीले गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकबाट आशयपत्र पाई तोकिएको सबै मापदण्ड एवं प्रक्रिया पूरा गरी २०७७ असोज ११ गते भुक्तानी सेवा प्रदान गर्न लाइसेन्स पाएको थियो ।
वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल, पर्यटन जस्ता व्यवसायीक क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरुको अग्रसरतामा पेवेल नेपाल सञ्चालनमा आएको हो ।
यसले डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्नेछ । पैसा पठाउन, पाउन र तिर्न पेवेल नेपाल भन्ने नाराका साथ सञ्चालनमा आएको पेवेलले खासगरी विद्युत, खानेपानी, हस्पिटल, होटल, रेस्टुराको विल, टेलिफोन, इन्टरनेट, स्कुल, कजेजको फि तिर्न, हवाइ टिकट खरिद गर्न लगायत अन्य युटिलिटिज सर्भिसेजहरुको भुक्तानी गर्ने सेवा प्रदान गर्नेछ ।
साथै यस कम्पनीले सहज, सस्तो, भरपर्दो र सुरक्षित तवरले रकम पाउन, पठाउन, डिपोजिट गर्न र झिक्न, सेयर खरिद विक्रीको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका सेवाहरुको डिजिटल माध्यमबाट भुक्तानी गर्ने सेवा प्रदान गर्ने जनाएको छ ।
यस कम्पनीको एप्लिकेशन पेवेल नेपाल एण्ड्रोइड मोबाइलको प्ले स्टोर र आइओएसको एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । माघ २७ र २८ गते एप डाउनलोड गर्नेहरुलाई एकाउन्टमा अटोमेटिक रुपमा १०० रुपैयाँ जम्मा हुनेछ । पेवेलले भरपर्दो इन्टनेट सेवा नपुगेका स्थानमा अफलाइन प्रविधिमार्फत भुक्तानी सेवा प्रदान गर्ने तयारी गरिरहेको छ ।
पेवेलले आफ्नो वालेट प्रणाली अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरेर निमार्ण गरेको दावी गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको साइवर सुरक्षा मापदण्ड सम्बन्धि सम्पूर्ण मापदण्ड पूरा गरेर कम्पनीको एप्लिकेशन डिजाइन तथा विकास गरेको कम्पनीले बताएको छ ।
हाल १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले व्यापक रुपमा आफ्नो सेवा विस्तार गर्न थप पूँजी वृद्धि गरी १० करोड पुर्याउन राष्ट्र बैंकमा प्रस्ताव गरेको छ ।