निजी क्षेत्रले प्रवद्र्धन गरेका बैंकलाई सरकारी बैंकको कडा टक्कर (तथ्यांक सहित)

काठमाडौं । सरकारी लगानीका बैंकले निजी क्षेत्रबाट प्रवद्र्धन गरिएका बैंकहरुलाई अधिकांश सूचकमा पछि पारेका छन् । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्य बुधबारसम्म १२ वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको आफ्नो आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।

 

वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा ग्लोबल आईएमई, माछापुच्छ्रे, सिटिजन्स, प्रभु, सानिमा, सिद्धार्थ, नेपाल एसबीआई, एभरेष्ट, नेपाल बैक, कुमारी, लक्ष्मी र कृषि विकास बैंक रहेका छन् ।

 

सार्वजनिक विवरण अधिकांश बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापारसँगै मुनाफा पनि बढाउन सफल भएका छन् । बैंकहरुले निक्षेप संकलन, कर्जा प्रवाह, खुद नाफा, ब्याज आम्दानी, प्रतिसेयर आम्दानीजस्ता महत्वपूर्ण सूचकमा बढोत्तरी गरेका छन् ।

 

सबैभन्दा बढी वितरणयोग्य मुनाफा सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडको रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १ करोड रुपैयाँ छ । यस्तै दोस्रोमा पनि सरकारी स्वामित्वकै कृषि विकास बैंकको ३ अर्ब  रहेको छ । निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश बाँड्न सक्ने क्षमता ग्लोबल आईएमई बैंकको रहेको छ । ग्लोबलसँग २ अर्ब ४२ करोड ९५ लाख वितरणयोग्य रकम रहेको छ ।

 

बैंकको खुद नाफामा २९ प्रतिशतले वृद्धि

 

आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमाससम्ममा १२ वाणिज्य बैंकले कुल २७ अर्ब ८१ करोड ५१ लाख खुद नाफा आर्जन गरेका छन् । यो रकम आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा ४ अर्ब ९६ करोड ४१ लाख (२९ प्रतिशत) ले बढी हो । अघिल्लो आर्थिक वर्षमा यसै अवधिसम्ममा यी बैंकले २२ अर्ब ८५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

 

खुद ब्याज आम्दानीमा वृद्धि

 

 

चौथो त्रैमाससम्ममा १२ वाणिज्य बैंकले बैंकहरूको खुद ब्याज आम्दानी २२.६५ प्रतिशत बढेर ५४ अर्ब ८५ करोड ५४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा यी बैंकको ब्याज आम्दानी ४४ अर्ब ७२ करोड ४५ लाख थियो । यो अघिल्लो वर्षको तुलनामा १० अर्ब १३ करोड ९ लाखले बढी हो ।

 

सो अवधिमा प्रभु बैंकको खुद ब्याज आम्दानी ६२ दशमलव १५ प्रतिशत बढेको छ । त्यस्तै नेपाल बैंकको यस्तो आम्दानी ३ दशमल २७ प्रतिशत घटेको छ ।

 

खुद नाफामा प्रभुको छलाङ, नेपाल बैंकको घट्यो

 

बुधबारसम्ममा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने १२ वाणिज्य बैंकमध्ये नेपाल बैंक बाहेक अरु सबै बैंकले नाफा बढाएका छन् । प्रभु बैंकको खुद नाफा वृद्धिदर सबैभन्दा धेरै रहेको छ । प्रभुले अघिल्लो वर्षको तुलनामा ११२.०५ प्रतिशतले नाफा बढाएको छ । आर्थिक वर्ष २०७४/७५ मा ९६ करोड ७० लाख नाफा कमाएको प्रभुले आर्थिक वर्ष २०७५/७६ अन्त्यसम्ममा २ अर्ब ५ करोड ६ लाख नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब ८ करोड ३६ लाखले बढी हो ।

 

त्यस्तै नेपाल बैंकको खुद नाफा भने १८.७७ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २१ करोड ५६ लाख खुद नाफा आर्जन गरेको बैंकको नाफामा ६० करोडले गिरावट आएको हो । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६१ करोड १९ लाखमात्र नाफा कमाएको छ ।

 

कसको नाफा कति ?

 

रकमका आधारमा सबैभन्दा धेरै नाफा सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले कमाएको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने सबै १२ वटै बैंकहरु अर्बपति क्लबमा रहेका छन् ।

 

कृषि विकास बैकले गत असार मसान्तसम्ममा ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ७० करोडले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

यस्तै दोस्रोमा एभरेष्ट बैंक रहेको छ । एभरेष्टले गत असार मसान्तसम्ममा ३ अर्ब ४ करोड खुद नाफा कमाएको छ । यस्तै समीक्षा अवधिमा ग्लोबल आईएमई र नेपाल बैंकले २ अर्ब ६० करोड भन्दा बढी नाफा कमाएका छन् भने प्रभु, सानिमा, सिद्धार्थ, एसबीआई बैंकले २ अर्ब भन्दा बढी नाफा कमाएका छन् । यस्तै माछापुच्छे«, सिटिजन, लक्ष्मी र कुमारी बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन् ।

 

रकमका आधारमा सबैभन्दा कम नाफा कुमारी बैंकको रहेको छ । सो अवधिसम्ममा कुमारी बैंकले १ अर्ब ३३ करोड ४० नाफा कमाएको छ ।

 

वितरणयोग्य नाफामा नेपाल बैंक अगाडि

 

झन्डै २७ अर्ब ८१ करोड खुद नाफा आर्जन गरेका यी १२ वाणिज्य बैंकको केन्द्रीय बैंकले तोकेको शीर्षकहरुमा नियामकीय व्यवस्था अनुसार रिजर्भ राखेपछि वितरणयोग्य मुनाफा भने २२ अर्ब ५५ करोड १९ लाख रहेको छ ।

 

सबैभन्दा बढी वितरणयोग्य मुनाफा सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडको रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १ करोड रुपैयाँ छ । यस्तै दोस्रोमा पनि सरकारी स्वामित्वकै कृषि विकास बैंकको ३ अर्ब  रहेको छ ।

 

निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश बाँड्न सक्ने क्षमता ग्लोबल आईएमई बैंकको रहेको छ । ग्लोबलसँग २ अर्ब ४२ करोड ९५ लाख वितरणयोग्य रकम रहेको छ ।

 

सबैभन्दा कम वितरणयोग्य मुनाफा भने कुमारी बैंककै छ । उक्त बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ७० लाख रहेको छ ।

 

प्रतिसेयर आम्दानी

 

चौथो त्रैमासिक वित्तीय विवरण अनुसार गतबर्षको तुलनामा नेपाल बैंक बाहेक अरु सबै बैंकको प्रतिसेयर आम्दानी बढेकोे छ । सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै छ । बैंकको प्रतिसेयर आम्दानी गत वर्षको भन्दा ६.८७ रुपैयाँले बढेर ४४.६७ रुपैयाँ पुगेको छ । सबैभन्दा कम कुमारी बैंकको १५.३६ रुपैयाँ रहेको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिसेयर आम्दानी सबैभन्दा धेरै प्रभु बैंकले ११.६० रुपैयाँले बढाउन सफल भएको छ । प्रभुको प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ पुगेको छ ।

 

यता सरकारी स्वामित्वको नेपाल बैंकको भने प्रति सेयर आम्दानी १२.८३ रुपैयाँले घटेको छ । अघिल्लो वर्ष ३९.९८ रुपैयाँ प्रतिसेयर आम्दानी भएको बैकको गत वर्षमा २७.१५ रुपैयाँमा झरेको हो ।

 

जगेडा कोषमा कुन बैंक बलियो ?

 

जगेडा कोषको आधारमा नेपाल बैंक सबैभन्दा बलियो देखिएको छ । अघिल्लो वर्षको तुलनामा सञ्चित कोषमा १२.३९% ले कमी आए पनि अझै बैंकको कोषमा १३ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ रहेको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः कृषि विकास र एभरेष्ट बैंक रहेका छन् । कृषिको जगेडा कोषमा १० अर्ब ४० करोड ८९ लाख रहेका छ भने एभरेष्ट ७ अर्ब १० करोड ५ लाख रहेको छ ।

 

यता जगेडा कोषकै आधारमा माछापुच्छ्रे बैंक सबैभन्दा कमजोर देखिएको छ । बैंकको कोषमा १ अर्ब ४५ करोड १३ लाखमात्र रहेको छ ।

 

चुक्ता पूँजी

 

आर्थिक वर्षको अन्त्यसम्ममा यी १२ वटै बैंकहरुले राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम ८ अर्ब चुक्ता पूँजी पुर्याएका छन् । पूँजीका आधारमा सरकारी स्वामित्व रहेको कृषि विकास बैंक सबैभन्दा अगाडि रहेको छ । सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । जसमा सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार र सर्वसाधरणको ९ अर्ब १ करोड ५५ लाख २९ हजार रुपैयाँ रहेको छ ।

 

चुक्ता पूँजीकै आधारमा निजी क्षेत्रको ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ । ग्लोबलको आर्थिक वर्षको अन्त्यसम्म १० अर्ब ३१ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

 

सबैभन्दा कान्छो बैंकको रुपमा रहेको सानिमा बैंकको सबैभन्दा कम चुक्ता पूँजी रहेको छ । यसको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार रहेको छ ।

 

माथि उल्लेखित तथ्यांकहरु बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार तयार पारिएको हो ।

वायु सेवा निगम सुधार्न कार्यदल गठन Read Previous

वायु सेवा निगम सुधार्न कार्यदल गठन

बैंक अफ काठमाण्डूको खुद नाफा करिब ४७%ले बढ्यो, लाभांश क्षमता कति ? Read Next

बैंक अफ काठमाण्डूको खुद नाफा करिब ४७%ले बढ्यो, लाभांश क्षमता कति ?