पार्किङस्थल बन्दै सडक, सरोकारवाला निकायहरु एकअर्कालाई देखाएर पन्छिँदै

काठमाडौं । पछिल्लो समय उपत्यकाभित्र धेरै सडकहरु विस्तार भएका छन् ।सवारी आवत जावतमा सहज बनाउन साँघुरा सडकलाई फराकिलो बनाइए पनि ती सडक अहिले गाडी गुड्नुका सट्टा पार्किङस्थलमा परिणत हुँदै  गएको पाइन्छ ।

 

सडकको दायाँबायाँ जथाभावी सवारी पार्किङ हुन थालेपछि सडकमा लामो जाम हुने गरेको छ भने यात्रुले समेत सास्ती भोग्दै आएका छन् । सडकको अव्यवस्थित पार्किङ हटाउने जिम्मा पाएका सरोकारवाला निकाय भने काम गर्नुको सट्टा एक अर्काको काम हो भन्दै जिम्मेवारीबाट पन्छिने गरेका छन् ।

 

सडक व्यवस्थित तथा जाम नियन्त्रण गर्न भूमिका खेल्ने सरोकारवाला निकायहरु काठमाडौं महानगर, सडक विभाग, ट्राफिक प्रहरी महाशाखा लगायत रहे पनि उनीहरु एक अर्काको काम भन्दै जिम्मेवारीबाट पन्छिने गरेको आरोप छ ।

 

अहिले काठमाडौं उपत्यकाका मुख्य सडकदेखि गल्लीमा सम्म अस्तव्यस्त पार्किङ गरेको भेटिछ । सवारीधनीमा सचेतनाको कमी र सरोकारवाला निकायको आँखाको छारो हाल्ने पाराको काम गराइले यो समस्या झन जटिल बन्दै गएको छ ।

 

सरोकारवालाहरु अर्को नियकायको काम भन्दै पन्छिदै

 

सडक व्यवस्थित तथा जाम नियन्त्रण गर्न भूमिका खेल्ने सरोकारवाला निकायहरु काठमाडौं महानगर, सडक विभाग, ट्राफिक प्रहरी महाशाखा लगायत रहे पनि उनीहरु एक अर्काको काम भन्दै जिम्मेवारीबाट पन्छिने गरेको आरोप छ ।

 

सडक विभागका सूचना अधिकारी अशोक कुमार सिंह सडक विस्तार पछिको पार्किङ व्यवस्था अथवा पूर्वाधार संरचना निर्माणको काम आफ्नो नभएको बताउँछन् । उनले ट्राफिक व्यवस्थापनमा हुने काम ट्राफिकको पाटो रहेको बताए ।

 

‘सडक विस्तार गरेका हौँ काठमाडौं भित्र हाइवे जस्तो निरन्तर गाडी गुड्दैन, पाएको ठाउँमा मात्र विस्तार गरिएको छ,’ सिंहले चाणक्य पोष्टसँग भने ‘कुनै व्यक्तिको पहिला घर थियो तर त्यो अहिले भत्काएर सडक बनाइएको छ । त्यस्तै स्थानमा उनीहरुले पार्किङ गर्दै आएका छन् ।

 

ती सडकमा तत्काल ट्राफिक व्यवस्थापन र नयाँ संरचनाको कुनै योजना नभएको उनले बताए । सडक निर्माण गर्दा गाडी रोक्ने भनेर डिजाइन नभई सडक निर्माण पछि मात्र हुने उनको भनाइ छ । सो पाटो म्यानेजमेन्टको रहेको उनले बताए ।

 

‘अन्य कुरा ट्राफिक व्यवस्थापन हामीले हेर्ने हैन । सुधार, मर्मत निर्माण गर्ने काम हाम्रो हो ट्राफिक व्यवस्थापनको काम हाम्रो हैन,’ सिंहले चाणक्य पोष्टसँग भने ।

 

के भन्छन् सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख ?

 

सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख कृष्ण ओझा सडकको क्षमता अनुसार पार्किङ गर्न पाइने बताउँछन् । क्षमता पूरा नभएको खण्डमा पार्किङ गर्न दिन सकिने उनले बताए । तर, सडक क्षमता पूरा भएका स्थानहरुमा समेत पार्किङ हुने गरेको जसले सडकमा जाम हुने उनको भनाइ छ । यसमा सर्वसाधरणको समेत बाध्यता रहेको उनले बताए ।

 

सडक विभागले मात्र पार्किङ समाधान गर्न नसक्ने भन्दै उनले यसको मुख्य समाधान गर्ने निकाय महानगरपालिका रहेको बताए । उनले काठमाडौं भित्रका सडकमा व्यवस्थापन गर्ने काम महानगरपालिका र यातायात व्यवस्था विभागको रहेको बताए ।

 

‘नगरपालिकाले र सवारी व्यवस्थाले यातायात व्यवस्थाको जिम्मा लिनु पर्छ, यो भनेको दुबै निकायले समन्वयन गरेर समाधान गर्नु पर्ने विषय हो,’ ओझाले चाणक्य पोष्टसँग भने ‘जग्गा नभए अधिग्रहण गरेर पनि पार्किङको व्यवस्था मिलाउनु पर्छ ।’

 

उनले विगतमा भएका बहसहरुमा घर बनाउदा नक्सा पास गर्दा पार्किङको व्यवस्था अनिवार्य गर्नुपर्ने सल्लाहा दिए पनि त्यसमा कार्यान्वयन नआएको उनले बताए । ‘अफिसको लागि कति पार्किङ चाहिने, रेसिडेन्स एरियामा कति बनाउने छुट्याउनु पर्छ, मैले नयाँ बन्ने घरमा अनिवार्य पार्किङ बनाउनु पर्ने र बनिसकेका घरमा पनि पहिलो तल पार्किङ बनाउ भनेको थिए’ ओझाले भने ।

 

सडक छेउमै सटर बनाउँदा समेत सडकमा जाम हुने गरेको उनले बताए । सडक छेउमै सटरहरु हुँदा यात्रुले गाडी रोकेर सामान किन्दा अन्य सवारीको मोबीलटीमा समस्या आएको उनले बताए । यति मात्र सुधार गरे १०÷२० प्रतिशत सडका समस्या सुधार हुने उनको विश्वास छ ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी लेखनाथ भुसाल सडक व्यवस्थापनका लागि आफुले नीति, मापदण्ड बनाउने मात्र गरेको बताउँछन् । उनले सो नीति मापदण्ड कार्यान्वयनको काम ट्राफिक तथा महानगरपालिकाको रहेको बताए ।

‘सडकमा पार्किङ गर्नु गयर कानुनी हो, मापदण्ड अनुसार सडक छेउमा कहीँ पनि पार्क गर्न पाइँदैन,’ भुसालले चाणक्य पोष्टसँग भने ‘यातायात व्यवस्थापन विभाग मार्गदर्शनको रुपमा रहेको छ, कार्यानवयन गर्ने काम ट्राफिक र महानगरपालिकाको हो ।’

 

सो व्यवस्था सम्बन्धि सम्बन्धित क्षेत्रका ट्राफिक कार्यालय तथा महानगरपालिकाका प्रहरी शाखाले हेर्ने उनले बताए ।यस्तै उनले ट्राफिक व्यवस्थापनका लागि कार्ययोजना बन्दै गरेको बताए । सो योजनामा ट्राफिक लाइट, पार्किङ, रेगुलर गाडी निरिक्षण लगायतका कामहरु पर्ने उनले बताए ।

 

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा काठमाडौं सहरमा योजना गरेर जनसंख्या व्यवस्था गर्न पूर्वाधार नगरिएकोले यस्तो समस्या सृजना भएको बताउँछन् ।

 

द्रुतगतिमा सवारीसाधन थपिँदा समस्या, नियन्त्रणको छैन योजना

 

काठमाडौंमा जनसंख्या द्रुतगतिमा बढ्दा र सवारीसाधन आवतजावतको समेत कुनै सीमा नतोकिँदा क्षमताभन्दा बढी सवारीका कारण जामहरु बढेको उनले बताए । ‘सडक जति विस्तार भए पनि जाम उस्तै छ तर, यति विस्तार पनि नगरेको भए के हुन्थ्यो तपाई आफै सोच्नुस,’ सापकोटाले भने ।

 

उनले यसको समाधानका लागि सरकारले यो जनसंख्यालाई उपत्यका बाहिर पठाउन केही गर्नु पर्ने बताए । उपत्यका बाहिर पनि हरेक प्रदेशमा सेवा सुविधा पठाउन सके केही जनसंख्या उपत्यका आउनु पर्ने बाध्यकारी अवस्था सृजना नहुने उनको भनाइ छ ।

 

‘सबै अवसरका लागि काठमाडौं आउँछन् त्यो अवसर उपत्यका बाहिर प्रत्येक प्रदेशमा पुर्याउनु पर्यो, संघियता लागू भएपछि काठमाडौंमा जनसंखया वृद्धिको रफतार काठमाडौंमा घटाउनु पर्छ,’ सापकोटाले भने ।

 

उनले काठमाडौँमा सडक विस्तार गर्ने ठाउँ अब नबचेको भन्दै उपत्यका बाहिर सहर विकास गर्नुपर्ने बताए । मापदण्ड अनुसार सडक विस्तार हुन सकेको छैन । सरकारले विस्तार गर्न नसकिएका स्थानमा यथास्थितिमै सडक निर्माण गर्दै छ ।

 

गाली गरेर धारे हात लगाउँदैमा समस्या समाधान हुँदैन : प्रमुख सापकोटा

 

महानगर प्रहरी प्रमुख सापकोटाले अरुलाई गाली गरेर धारे हात लगाउँदैमा समस्या समाधान नहुने बताए । उनले हरेक ठाउँमा कार्यालयमा पार्किङ व्यवस्था हुनु पर्नेमा जोड दिए । मानिसहरुमा पार्किङ क्षेत्रमा मात्र गाडी रोक्नु पर्छ भन्ने चेतना भए मात्र यस्तो समस्या कम हुँदै जाने उनले बताए ।

 

उनले अन्डरग्राण्ड पार्किङ देखाए ‘फार कभरेज’ छुटको समेत व्यवस्था रहेको बताए । पार्किङ बने पनि त्यही विल्डिङका लागि त्यो पर्याप्त नहुने गरेको उनी बताउँछन् ।

 

यस्तै काठमाडौंमा बस, ट्रक लरीका लागि पार्किङ छैन । यस्ता ठूला सवारीहरु सडकमै पार्किङमा राखिने गरेको छ । यस्ता ठूला सवारी पार्किङका लागि पन व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

 

पार्किङका लागि नीजि क्षेत्र आफैले व्यवस्था गर्नु पर्छ । उपत्यका भित्रका लागि मात्र बस पार्क छ । तर, उपत्यका बाहिरका गाडीका लागि छुट्टै बसपार्क छैन । साँखु, भक्तपुर, सबैले छुट्टै बसपार्क बनाए अझै सहज हुने उनले बताए ।

 

‘अहिले बस पार्क हाम्रो मात्र छ अन्य नगरपालिकाहरुको बसपार्क छैन, सबै यतै थुप्रिन्छन्, ठाउँ नपाउने बाहिरै सडकमा राखिन्छन्, हरेक नगरपालिकाले बसपार्क बनाए भने यसमा धेरै समाधान आउन सक्छ,’ सापकोटाले भने ।

 

उनले चक्रपथ भित्र अब जीवनकालमा एक इन्च पनि सडक बढाउन सक्ने अवस्था नरहेको बताए । करिडोरमा सडक बढाउन सक्ने भए पनि प्राइबेट प्रोपर्टी पेल्न नसकिने हुँदा ग्रिनेरी तर्फ गर्यो भने सम्भव हुने उनले बताए ।

विदेश जाने ७७ प्रतिशतले घटे पनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो Read Previous

विदेश जाने ७७ प्रतिशतले घटे पनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्नु उपयुक्त ? Read Next

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्नु उपयुक्त ?