काठमाडौं । सेयर बजारले दिनदिनै नयाँ उचाइ चुम्दै जाँदा सेयर बजारमा सूचीकृत कम्पनीको मूल्य पनि आकाशिँदै गएको छ ।
बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायत क्षेत्रका कम्पनीको मूल्य सामान्य बढे पनि बीमा, माइक्रोफाइनान्स, उत्पादनमूलक लगायत क्षेत्रका कम्पनीको मूल्य भने अचाक्ली बढेको छ ।
पछिल्लो समय माइक्रोफाइनान्स कम्पनीहरूको पनि सेयर भाउ ह्वात्तै बढेको छ । हाल नेप्सेमा ५२ वटा माइक्रोफाइनान्स कम्पनीहरू सूचीकृत भए पनि अहिले ३९ वटा कम्पनीको कारोबार खुला छ भने बाँकी ११ कम्पनीको कारोबार रोक्का छ । ती कम्पनीहरू मर्जर वा एक्विजिशन प्रक्रियामा रहेका कारण कारोबार रोक्का भएको हो ।
कारोबार भइरहेका लघुवित्त कम्पनीका सेयरहरूमा दैनिक उछाल आइरहेको छ । सूचीकृत कम्पनी मध्ये ८० प्रतिशभन्दा बढी कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५०० रूपैयाँभन्दा धेरै रहेको छ ।
नेप्सेका अनुसार सोमबारसम्म ३ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार रूपैयाँभन्दा बढी रहेको छ । जसमा सबैभन्दा महङ्गो माइक्रोफानान्स जनउत्थान रहेको छ । यसको सेयर मूल्य प्रतिकित्ता ३९६५ रुपैयाँ रहेको छ । यसैगरी दोस्रोमा नेशनल र फरवार्ड माइक्रोफाइनान्स रहेका छन् । यी दुवै कम्पनीको सेयर मूल्य ३ हजार रूपैयाँ भन्दा बढीमा कारोबार भइरहेको छ ।

यसैगरी, उन्नति, डेप्रोक्स, सूर्योदय लगायत करिब ९ कम्पनीको मूल्य २००० देखि ३००० रूपैयाँको बीचमा रहेको छ भने करिब डेढ दर्जन कम्पनीको सेयर मूल्य १५०० देखि २००० रूपैयाँको बीचमा छ ।
नेप्सेमा सूचीकृत भएका कम्पनीमध्ये जम्मा २ वटा (कारोबार स्थगन भएका बाहेक) कम्पनीको सेयर मूल्य १००० रूपैयाँभन्दा तल छ । जसमा फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसी माइक्रोफाइनान्स रहेका छन् । सेयर बजारको सबैभन्दा सस्तो फर्स्ट माइक्रोफाइनान्स रहेको छ । सोमबार यसको सेयर मूल्य प्रतिकित्ता ८८९ रुपैयाँ रहेको छ ।
यी दुवै माइक्रोफाइन्स होलसेल माइक्रोफाइनान्स हुन् । यीनले प्रत्यक्ष रूपमा आम मानिसहरूलाई ऋण लगानी गर्दैनन् । होलसेल माइक्रोफाइनान्स कम्पनीहरूको सेयर मूल्य अन्य माइक्रोफाइनान्सहरूको भन्दा कम चञ्चल हुन्छन् ।
यसको मतलब होलसेल बाहेक अन्य माइक्रोफाइनान्स कम्पनीहरूको प्रति कित्ता सेयर मूल्य अब १ हजार रूपैयाँ भन्दा कम रहेनन् (कारोबार बन्द रहेका बाहेक) । अब कसैले चलखेल गरेर माइक्रोफाइनान्स कम्पनीहरूको सेयर मूल्य बढाएका हुन् भनेर मान्ने हो भने त केही पनि विश्लेषण गर्नै परेन । षड्यन्त्रको थ्यौरी (कन्सपिरेसी थ्यौरी) को कुनै विश्लेषण हुँदैन ।
किन आकाशिँदै छ माइक्रोफाइनान्सको सेयर मूल्य ?
सामान्य र आधारभूत ढंगले विश्लेषण गर्ने हो भने चाँही माइक्रोफाइनान्स कम्पनीहरूको सेयर मूल्य बढ्नु मूल रूपमा ४ कारणहरू देखिन्छन् ।
पहिलो कारण घट्दो बैंकको ब्याजदर हो । माइक्रोफाइनान्स कम्पनीहरू आफुले संकलन गरेको निक्षेपका अलावा वाणिज्य बैंकहरूबाट ऋण लिएर पनि लगानी गर्ने गर्छन् । अहिले बाणिज्य बैंकहरूको व्यादर दिनप्रतिदिन घटिरहेको छ । यस्तोमा कम ब्याजदरमा ऋण लिएर लगानी गर्दा आगामी दिनहरूमा यी कम्पनीहरूले आकर्षक नाफा निकाल्न सक्छन् भन्ने अनुमान गरेर लगानीकर्ताहरू माइक्रोफाइनान्स कम्पनीहरूको सेयरमा आकर्षित भएका हुन सक्छन् ।

दोस्रो कारण भनेको माइक्रोफाइनान्स कम्पनीहरूको वित्तीय विवरण हुनसक्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका माइक्रोफाइनान्स कम्पनीहरूले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रति सेयर आम्दानीमा आकर्षक सुधार देखिएको छ भने खराब कर्जा घटेको देखिएको छ । यसको मतलब यी कम्पनीहरूले कोरोना महामारीको प्रभावलाइ धेरै हदसम्म निस्तेज पारेको देखिएको छ ।
तेस्रो कारण लघुवित्त कम्पनीहरूमा मर्जरको सिनर्जी देखिएको छ । मर्ज भएका कम्पनीहरूको वित्तीय विवरण आकर्षक देखिएको छ । यस्ता कम्पनीहरूको सेयरमा लगानीकर्ताहरू झुम्मिएका छन् । उदाहरणको लागि आरम्भ र चौतारी लघुवित्त मिलेर बनेको आरम्भ चौतारी लघुवित्तको वित्तीय विवरण राम्रो आएको छ । मर्ज भएर सेयर कारोबार खुल्दा प्रति कित्ता ७०० हाराहारी रहेको यो कम्पनीको सेयर मूल्य अहिले प्रति कित्ता २ हजार रूपैयाँ नजिक पुगिसकेको छ ।
चौथो कारण भनेको माइक्रोफाइनान्स कम्पनीहरूको चुक्ता पुँजी बैंक र विकास बैंकहरूको तुलनामा निकै कम छ । यसको मतलब कारोबारको लागि सेयर संख्याको उपलब्धता कम छ । सामान्य माग र आपूर्तिको सिद्धान्त अनुसार पनि आपुर्ती कम भएपछि मूल्य बढ्नु स्वभावीक नै मानिन्छ ।
यसैगरी माइक्रोफाइनान्स कम्पनीहरूको सेयर मूल्य उच्च हुनुको पाँचौ कारण भनेको लाभांश पनि हुनसक्छ । बैंक र विकास बैंकहरूको तुलनामा माइक्रोफाइनान्स कम्पनीहरूले गत वर्षको नाफा बाटै पनि राम्रै लाभांश दिएका छन् भने आगामी वर्ष लाभांश बढ्ने संकेतहरू वित्तीय विवरणले देखाइसकेका छन् । अहिले नेपाली सेयर बजार बुल रनमा रहेको र यो रन अझै २ वर्ष जति रहन्छ भन्ने आत्मविश्वास आम लगानीकर्ताहरूको छ । यसै कारण उनीहरू लाभांश बढि दिन सक्ने कम्पनीहरूको सेयरमा भुम्मिएका हुनसक्छन् ।