बैंक चम्किँदा सेयर बजारले बनायो तेहोरो कीर्तिमान, लगानीकर्ताको सम्पत्ति एकैदिन ५३ अर्ब बढ्यो

काठमाडौं । बैंकिङ क्षेत्रको सेयरमा चमक आउँदा सेयर बजारले तेहोरो कीर्तिमान बनाएको छ । लगानीकर्ता माइक्रोफाइनान्सबाट बैंकिङ क्षेत्रमा सिफ्ट हुँदा नेप्सेले एकै दिन तीन नयाँ रेकर्ड बनाएको हो ।

 

आज एकैदिन सर्वाधिक उच्च विन्दु, सर्वाधिक कारोबार र हालसम्मकै धेरै बजार पूँजीकरणको रेकर्ड बनाएको छ । आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

 

नेप्सेले २५६१ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २५५० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २५२४.२३ विन्दु पार गरेको थियो ।

 

यस्तै, नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन एकै दिन सर्वाधिक कारोबारको रेकर्ड पनि बनाएको छ । सेयर बजार इतिहासमै एकदिन १० अर्ब ६१ करोडको कारोबार हुँदै नयाँ इतिहास रचेको हो । एकै दिन साढे १० अर्ब बढीको कारोबार भएको यो इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार सर्वाधिक १० अर्ब ४४ करोड रुपैयाँ कारोबार भएको थियो ।

 

यस्तै, आज बजार पूँजीकरणले पनि नयाँ रेकर्ड बनाएको छ । लगानीकर्ताले सम्पत्ति एकैदिन करिब ५३ अर्बले बढेर साढे ३४ खर्ब रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो । नेप्सेका अनुसार सोमबार सूचीकृत कम्पनीको बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ३७.४८ अंकले बढेर २५६१.४८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८६८ रुपैयाँ बराबरको २ करोड ११ हजार ५५५ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २११.३७ अंकले बढेको छ भने निर्जीवन बीमा समूह १३१.९२ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०६ कम्पनीमध्ये ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा प्रभु बैंक परेको छ । यसको सबैभन्दा धेरै ६२ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ र नबिल बैंक ३३/३३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

आज लगानीकर्ता माइक्रोफाइनान्स बैंकको सेयरमा झुम्मिएका छन् । यसअघि बीमा र माइक्रोफाइनान्सको सेयरमा झुम्मिएका लगानीकर्ता आज बैंकमा डाइभर्ट भएका हुन् । आज अधिकांश बैंकको सेयर मूल्य बढेको छ ।

 

उच्च अंकले बढेको बजारमा आज जम्मा एउटा मात्र कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज ग्रामीण लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशत कमाएका छन् ।

 

दोहोरो अंकले बढेको बजारमा आज हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.७८ प्रतिशत गुमाएका छन् ।

५ महिनादेखि त्रिपाल मुनि थन्किएको रेल भारतबाट प्राविधिक ल्याएर चलाउने तयारी Read Previous

५ महिनादेखि त्रिपाल मुनि थन्किएको रेल भारतबाट प्राविधिक ल्याएर चलाउने तयारी

माइक्रोफाइनान्सको सेयर १५०० रुपैयाँ मुनि पाउनै मुश्किल, यसकारण अचाक्ली बढ्दै छ भाउ Read Next

माइक्रोफाइनान्सको सेयर १५०० रुपैयाँ मुनि पाउनै मुश्किल, यसकारण अचाक्ली बढ्दै छ भाउ