काठमाडौं । पूँजीगत लाभकर गणना सम्बन्धी विवाद ३ दिनभित्र समाधान गर्न अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई लिखित निर्देशन दिएको छ ।
साउन १ गतेदेखि लागू भएको भारित औसत विधिबाट पूँजीगत लाभकर गणना गर्ने विधि कार्यान्वयनमा आएकै दिनदेखि विवादमा आएको थियो । यस विषयले शेयर बजारलाई प्रभावित पारिरहेको भन्दै मन्त्रालयले आवश्यक निकासको लागि निर्देशन दिएको हो ।
अर्थ मन्त्रालयको निर्देशनपछि अब बोर्ड यो समस्याको समाधान निकाल्न बाध्य हुने भएको छ । यसअघि बोर्डले कर निर्धारण सम्बन्धी काम आफ्नो नभएको भन्दै पन्छिँदै आएको थियो ।
एक हप्ता अघि अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड, नेप्से, सीडीएस तथा लगानीकर्ताहरुबीच भएको संयुक्त बैठकमा पनि धितोपत्र बोर्डले यो समस्या समाधान गर्ने सहमति भएको थियो ।
त्यतिबेला बोर्डको सञ्चालक समिति बैठक बसेर समस्या समाधान गरिने उल्लेख गरिएको थियो । तर त्यसो सहमति कार्यान्वयन भएपछि अर्थ मन्त्रलायले बोर्डलाई पुनः लिखित आदेश दिएको हो ।