काठमाडौं । पछिल्लो समय लगातार ओरालो यात्रामा रहेको सेयर बजारमा सामान्य सुधार आएको छ । गत बिहीबारदेखि चार दिनमा २० अंकले घटेको बजारमा बुधवार सुधारको संकेत देखिएको हो।
पूँजीगत लाभकर गणना सम्बन्धी विवाद ३ दिनभित्र समाधान गर्न अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई लिखित निर्देशन दिएसँगै लगानीकर्ता थोरै भएपनि आशावादी बनेका छन् ।
साउन १ गतेदेखि लागू भएको भारित औसत विधिबाट पूँजीगत लाभकर गणना गर्ने विधि कार्यान्वयनमा आएकै दिनदेखि विवादमा आएको थियो ।
यस विषयले शेयर बजारलाई प्रभावित पारिरहेको भन्दै मन्त्रालयले आवश्यक निकासको लागि निर्देशन दिएको थियो। अर्थको निर्देशनसँगै लाभकार विवाद समाधान हुने आशामा बजारले गति लिने अनुमान गरिएको छ ।
सेयर बजार मापक सूचक नेप्से बुधबार २.७५ अंकले बढेर १२४८.४८ अंकमा पुगेको छ । १७२ कम्पनीको ३६ करोड ८६ लाख ४५ हजार ६६९ रुपैयाँ सेयर खरिदबिक्री भएको छ । ११ लाख ३८ हजार ६३९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल १२ वटा समूहको सेयर कारोबार भएकामा ९ समूहका सूचक बढेका छन् भने बाँकी ३ समूह तल झरेका छन् । वाणिज्य बैंक समूहको सूचक २.९६ अंकले बढेको छ ।
कारोबार रकममा कृषि विकास बैंक अग्रस्थानमा छ । यसको २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र नेपाल बैंक परेका छन् ।
नेपाल एग्रो लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १०% का दरले कमाएका छन् । सबैभन्दा धेरै मंगलबारबाट कारोबारमा आएको सान्जेन जलविद्युतका लगानीकर्ताले ९.९६% ले गुमाएका छन् ।
