हाइटेक बन्दै सार्वजनिक यातायात, काठमाडौं-पोखरा रुटमा गुड्ने गाडीमा जीपीएस जडान गरिँदै

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनलाई नियमन गर्न र त्यसको दुरुपयोग रोक्न जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) ट्रयाकिङ सिस्टम र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भएको छ ।

 

विभागले लामो अदालती प्रकृया पूरा भएपछि इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागेको हो भने सार्वजनिक यातायातलाई व्यवस्थित गर्न जीपीएस ट्रयाकिङ सिस्टम जडान गर्न लागेको हो ।

 

जीपीएस जडानपछि ट्राफिक प्रहरीलाई ट्रयाकिङ गर्न, गतिको जानकारी हुनुका साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी छ ।

 

जीपीएस जडानपछि ट्राफिक प्रहरीलाई ट्रयाकिङ गर्न, गतिको जानकारी हुनुका साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी छ ।

 

सार्वजनिक यातायातमा जीपीएस जडान

 

यातायातव व्यवस्थापन विभागले पहिलो चरणमा काठमाडौं–पोखरा रुटका सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्ने भएको छ । पर्यटन गन्तव्यको पहिलो प्राथमिकतामा रहेको पोखराका सवारी साधनमा सुरक्षालाई ध्यानमा राख्दै जीपीएस जडान गर्न लागिएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

 

विश्व बैंकको सहयोगमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन जीपीएस जडान गर्न लागिएको हो । विशेष गरी लामो दूरीका यातायातहरमा जीपीएस जडान गरिने उनले बताए । त्यसपछि प्रत्येक सार्वजनिक तथा निजी सवारीहरूमा समेत जीपीएस जडान गर्दै लैजाने उनले बताए ।

 

‘जीपीएस जडानका लागि काम भइरहेको छ, पहिलो चरणमा काठमाडौं–पोखरा खण्डमा चल्ने सार्वजनिक यातायातहरूमा जीपीएस जडान गर्ने तयारीमा छौँ, त्यसपछि सबैमा जीपीएस जडान गर्ने योजना रहेको छ,’ सूचना अधिकारी भुसालले चाणक्य पोष्टसँग भने ।

 

काठमाडौं–पोखरामा सार्वजनिक यातायात १२०० हाराहारीमा रहेका छन् । लामो दूरीमा जडान पछि छोटो दूरीका सवारीहरूमा समेत जीपीएस जडान गरिने उनले जानकारी दिए । जीपीएस जडान पछि कुन गाडी कहाँ कति समय रोकिएयो, कुन रुटतर्फ जाँदै छ भनेर निरीक्षण गर्न सकिने छ ।

 

के हो जीपीएस ट्रयाकिङ ?

 

ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ले देखाउने लंगिच्युड–ल्याटिच्युडलाई सफ्टवेयरबाट कैद गरी वास्तविक अवस्था हेर्ने र डाटा लिने प्रविधि ट्रयाकिङ हो । जीपीएसले पृथ्वीमा उभिएको विन्दु देखाउने गर्छ, यसैलाई ट्रयाकिङ गरेर वास्तविकता पत्ता लगाउन सकिन्छ ।

 

ट्रयाकिङ मार्फत ठाउँ, व्यक्ति र विभिन्न गतिविधिको निगरानी गर्न सकिन्छ । लंगिच्युड–ल्याटिच्युडलाई ट्रयाकिङगरेर पृथ्वीको वास्तविक ठाउँ पत्ता लगाउनु नै यो प्रविधिको काम हो ।

 

वाग्मती प्रदेशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुँदै

 

वाग्मती प्रदेशका सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागिएको छ । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने जनाएको हो ।

 

यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलले फागुन मसान्तसम्ममा वाग्मती प्रदेशमा रहेका सम्पूर्ण सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने बताए ।

 

‘पहिलो चरणमा सरकारले किनेका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दैछौं । फागुन मसान्तसम्ममा वाग्मती प्रदेशमा रहेका सबै सरकारी कार्यालयका साधनमा इम्बोस्ड जडान कार्य पुरा हुनेछ’, पौडेलले चाणक्य पोष्टसँग भने ।

 

सरकारले ५ वर्ष भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य लिएर २०७३ मा बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटुर टाइगरसँग सम्झौता गरेको थियो ।

 

शुरूवाती समयमा करिब ५ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेसँगै अंग्रेजी भाषामा नम्बर प्लेट तयार गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । मुद्दा परेसँगै इम्बोस्ड नम्बर प्लेट जडान रोकिएको थियो ।

 

इम्बोस्ड नम्बर जडानका लागि डेकाटुर टाइगरसँग ४ अर्ब ३७ करोड रुपैयाँमा सम्झौता भएको थियो । लामो अदालती प्रक्रियापछि इम्बोस्ड नम्बर प्लेट जडानको बाटो खुल्ला भएपछि विभागले जडानको काम अगाडि बढाउन लागेको हो ।

चन्द्रागिरीको सेयर आइतबारदेखि कारोबार हुने, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

चन्द्रागिरीको सेयर आइतबारदेखि कारोबार हुने, कतिमा खुल्छ पहिलो कारोबार ?

नबिललाई उछिन्दै पुनर्बीमा बन्यो तेस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी Read Next

नबिललाई उछिन्दै पुनर्बीमा बन्यो तेस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी