नबिललाई उछिन्दै पुनर्बीमा बन्यो तेस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी

काठमाडौं । नबिल बैंकलाई उछिन्दै नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा नेपाली सेयर बजारको तेस्रो ठूलो कम्पनी बनेको छ ।

 

यससाता पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता ८४ रुपैयाँले बढेसँगै पूँजीकरणका आधारमा नबिललाई पछि पारेको हो । अघिल्लोहप्ता प्रतिकित्ता १५०९ रुपैयाँ रहेको पुनर्बीमाको सेयर मूल्य यससाता बढेर १५९३ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार यस साता पुनर्बीमाको बजार पूँजीकरण १ खर्ब ५९अर्ब ३० करोड रुपैयाँ छ । यो चौथो स्थानमा झरेको नबिल बैंकको भन्दा करिब ९ अर्ब रुपैयाँले बढी हो ।

 

नबिलको बजार पूँजीकरण १ खर्ब ५० अर्ब ४३ करोड रुपैयाँ छ । पछिल्ला दिनमा सेयर मूल्य घटेपछि नबिल तेस्रो स्थानबाट झरेर चौथो स्थानमा पुगेको हो ।

नेप्सेका अनुसार सेयर बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण २ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ छ ।

 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्स १ खर्ब ६२ अर्ब ८६ करोड पूँजीकरण सहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । बजार पूँजीकरणकै आधारमा नागरिक लगानी कोष १ खर्ब २७ अर्ब सहित पाँचौं ठूलो कम्पनी बनेको छ भने एनआइसी एशिया बैंक १ खर्ब १ अर्बसहित छैटौं स्थानमा रहेको छ ।

 

दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाएको ग्लोबल आइएमई बैंक ८६ अर्ब ५३ करोड सातौं, ७२ अर्ब ३७ करोडसहित प्राइम कमर्शियल बैंक आठौं, ७१ अर्ब ९७ करोड पूँजीकरण रहेको नेपाल इन्भेष्टमेन्ट बैंक नवौं र ७० अर्ब ८४ करोड रुपैयाँ पूँजीकरणभएको शिवम सिमेन्ट दशौं ठूलो कम्पनीको रुपमा रहेको छ ।

 

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ३३ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

हाइटेक बन्दै सार्वजनिक यातायात, काठमाडौं-पोखरा रुटमा गुड्ने गाडीमा जीपीएस जडान गरिँदै Read Previous

हाइटेक बन्दै सार्वजनिक यातायात, काठमाडौं-पोखरा रुटमा गुड्ने गाडीमा जीपीएस जडान गरिँदै

टेलिकमका १७ वर्ष : २ करोड ९ लाखको  हातमा सिम, ७७ वटै जिल्लामा वायरलेस फोर जी Read Next

टेलिकमका १७ वर्ष : २ करोड ९ लाखको हातमा सिम, ७७ वटै जिल्लामा वायरलेस फोर जी