२१ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घट्यो, कुनको कति (सूचीसहित)

काठमाडौं । कोरोनाका कारण वाणिज्य बैंकहरुको नाफा घटेसँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ ।

 

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको प्रतिसेयर आम्दानी औसतमा ४.७९ प्रतिशतले घटेको छ ।

 

गत आवको पुस मसान्तसम्म औसतमा २३.७६ रुपैयाँ रहेको वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी चालू आवको पुसमा घटेर १८.९७ रुपैयाँमा सीमित भएको छ ।

 

नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये २१ बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने जम्मा ५ बैंकको मात्र प्रतिसेयर आम्दानी बढेको छ । चालू आवमा ११ वटा बैंकहरुले नाफा बढाए पनि जम्मा ४ बैंकको मात्र प्रतिसेयर आम्दानी बढेको छ ।

 

सामान्यतया नाफा र प्रतिसेयर आम्दानी बीच सकरात्मक सम्बन्ध रहन्छ । नाफा बढ्दा प्रतिसेयर आम्दानी पनि बढ्ने र घट्दा घट्ने हुन्छ । तर, यसपटक यो सम्बन्ध उल्टो देखिएको छ ।

 

कोरोनाका बाबजूद नाफा बढाए पनि केही बैंकको भने प्रतिसेयर आम्दानी घट्न पुगेको छ । बैंकहरुले लगानी गरेको कर्जा समयमै असुल हुन नसक्दा खराब कर्जा बढेसँगै त्यस्तो कर्जाबापतको रकम नाफाबाटै प्रोभिजन गर्दा बैंकहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको हो ।

 

चालू आवको दोस्रो त्रैमासमा बैंकहरुको नाफा औसतमा २.२६ प्रतिशतले गिरावट आएको छ ।पुस मसान्तसम्ममा नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक बाहेक) ले कुल २९ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिको भन्दा ६८ करोडले कमी हो । बैंकहरुले गत आवको पुससम्म ३० अर्ब खुद मुनाफा कमाएका छन् ।

 

समीक्षा अवधिसम्म एउटा बैंकले अ‍ैसतमा १ अर्ब १२ करोड मुनाफा कमाएका छन् । गत वर्ष यसै अवधिमा बैंकहरुले औसतमा १ अर्ब १५ करोड कमाएका थिए ।

 

२६ वटा बैंकमध्ये ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ भने सिभिल सबैभन्दा कम कमाउने बैंक बनेको छ । पुससम्म ग्लोबलले २ अर्ब ३१ करोड र सिभिलले २० करोड नाफा कमाएका छन् ।

 

५ बैंकको मात्र प्रतिसेयर आम्दानी बढ्यो

 

चालू आवको दोस्रो त्रैमासमा जम्मा ५ बैंकको मात्र प्रतिसेयर आम्दानी बढेको छ । दोस्रो त्रैमासमा प्रभु, एनएमबी, सिटिजन्स, नेपाल बंगलादेश र कुमारी बैंकको मात्र प्रतिसेयर आम्दानी बढेको छ ।

समीक्षा अवधिमा प्रभु बैंकले सबैभन्दा धेरै ४.६५ रुपैयाँले प्रतिसेयर आम्दानी बढाएको छ । गत आवको दोस्रो त्रैमासमा २२.१२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालू आवमा बढेर २६.७७ रुपैयाँ पुगेको छ ।

 

एनएमबीले प्रतिसेयर आम्दानी २.१९ रुपैयाँ बढाएर २२.५० रुपैयाँ पुर्याएको छ । यसैगरी बंगलादेशले २.१९ रुपैयाँ बढाएर २२.१६ रुपैयाँ, सिटिजन्सको १.८८ रुपैयाँ बढेर १७.८३ र कुमारीले ७० पैसा बढेर १७.५३ रुपैयाँ पुगेको छ ।

 

२१ बैंकको प्रतिसेयर आम्दानी घट्यो

 

चालू आवको दोस्रो त्रैमासमा २१ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घटेको छ । जसमा सबैभन्दा धेरै हिमालयन बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ७० प्रतिशतले घटेको छ ।

 

गत आवको दोस्रो त्रैमासमा ४०.९० रुपैयाँ रहेको हिमालयन बैंकको प्रतिसेयर आम्दानी २८.६७ रुपैयाँले घटेर १२.२३ रुपैयाँमा सीमित भएको छ ।यस्तै, समीक्षा अवधिमा नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट र नबिल बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँभन्दा धेरैले घटेको छ ।

 

नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये जम्मा ३ वछा बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ बढी रहेको छ । जसमा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको रहेको छ । एनआइसीको प्रतिसेयर आम्दानी ३५.७३ रुपैयाँ रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेको नबिलको २९.९१ रुपैयाँ र तेस्रो स्थानको प्रभुको २६.७७ रुपैयाँ छ ।

 

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम प्रतिसेयर आम्दानी सिभिल बैंकको रहेको छ । समीक्षा अवधिमा सिभिल बैंकको प्रतिसेयर आम्दानी २.५३ रुपैयाँ छ ।

अब नेपाल यातायात चढ्नेले डिजिटल भाडा तिर्न सक्ने, मुक्तिनाथको क्यूआर सेवा शुरू Read Previous

अब नेपाल यातायात चढ्नेले डिजिटल भाडा तिर्न सक्ने, मुक्तिनाथको क्यूआर सेवा शुरू

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा Read Next

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा