काठमाडौं । अब नेपाल यातायात चढ्ने यात्रुले क्यूआर मार्फत भाडा भुक्तानी गर्न सक्ने भएका छन् ।
यसका लागि डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले नेपालको यातायात क्षेत्रमा पनि क्यूआर मार्फत भुक्तानी लिने कार्यको शुरूवात गरेको छ । बैंकले नेपाल यातायात ऐक्सप्रेस प्रालिसँग सम्झौता गरी आजदेखि उक्त सेवा शुरू गरेको हो ।
यससँगै अब नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रुले बसमा भएको मुक्तिनाथ बैंकको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा तिर्न सक्नेछन् ।
यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाइने, नोटको हिफाजतमा वृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।