सौराहाका होटलमा ४० प्रतिशतसम्म छुट, ‘घुमौं सौराहा’ अभियानले तान्दै पर्यटक

सौराहा । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् ।

 

व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यतिबेला उनीहरूले प्रदेश नं २ र ३ का मुख्य शहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो ।

 

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार अभियानसँगै पूर्वी नेपालका पर्यटक पनि सौराहा आउन थालेका छन् । पारिवारिक र युवायुवती घुम्न आउने क्रम बढेको छ ।

 

उनले भने, ‘विगतमा विद्यार्थी बढी आउँथे, अहिले पारिवारिक भ्रमण आउने बढी छन् ।’ शुक्रबार र शनिबारसँगै बिदाको दिनमा आधाभन्दा बढी होटल भरिन थालेका छन् । अन्य दिनमा पनि यो सङ्ख्या ४० प्रतिशत हाराहारी हुने गरेको उनले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटल खुल्न थालेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको उनले बताए ।

 

सङ्घका पूर्वअध्यक्ष एवं अभियानका संयोजक सुमन घिमिरेले कार्यक्रमले राष्ट्रियरुपमा नै प्रचारप्रसार भएको बताए। जसका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको भन्दै उनले यसै महिना अन्य प्रदेशका शहरमा पनि अभियान लिएर जाने तयारी गरिएको जानकारी दिए। उनले भने, ‘यस्ता अभियान र स्थानीय सञ्चारमाध्यममा नियमित प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ ।’

 

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकको निकै राम्रो उपस्थिति रहेको बताए । बिदाका दिनमा भीडभाड हुने गरेको भन्दै उनले अन्य दिनमा पनि पर्यटकको आगमन सन्तोषजनक हुँदै गएको जानकारी दिए।

 

अभियान सौराहाका लागि महत्वपूर्ण बनेको भन्दै उनले यहाँको महत्वको बारेमा देशभर प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सकिने अभियानले पाठ सिकाएको बताए ।

 

सौराहामा अहिले होटल रेष्टुराँले आन्तरिक पर्यटकलाई २० देखि ४० प्रतिशत छुट दिँदै आएका छन् । नेपालमै रहेका र बाहिरबाट आएका विदेशी पर्यटक पनि आउन थालेको खतिवडाले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

 

दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् । यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् ।रासस

चीनले नेपाललाई ३ लाख डोज कोरोनाको खोप दिने Read Previous

चीनले नेपाललाई ३ लाख डोज कोरोनाको खोप दिने

९०० मेगावाटको अरूण तेस्रोको काम ४० प्रतिशत सम्पन्न, नदीको पानी डाइभर्सनको तयारी Read Next

९०० मेगावाटको अरूण तेस्रोको काम ४० प्रतिशत सम्पन्न, नदीको पानी डाइभर्सनको तयारी