९०० मेगावाटको अरूण तेस्रोको काम ४० प्रतिशत सम्पन्न, नदीको पानी डाइभर्सनको तयारी

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ ।

 

परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए ।

 

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइने छ ।

 

बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत्गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ ।

 

बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युत्गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् ।

 

फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११.७४ किमी छ ।प्रियोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ । परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ । यन्त्र राख्न १६ हजार ७०० घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार ४०० घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।

 

१ खर्ब ४४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ लिनेछ ।

 

परियोजनाबाट प्रभावित स्थानीयवासीले १ अर्ब ६० करोडको शेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । परियोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त हुने अनुमान छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख गरिएको छ ।

सौराहाका होटलमा ४० प्रतिशतसम्म छुट, ‘घुमौं सौराहा' अभियानले तान्दै पर्यटक Read Previous

सौराहाका होटलमा ४० प्रतिशतसम्म छुट, ‘घुमौं सौराहा' अभियानले तान्दै पर्यटक

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक Read Next

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक