काठमाडौं । जनतासामू ठूला विकासका नारा घन्काउने सरकारले भारतबाट रेल किनेर ल्याएको करिब ५ महिना बित्न लागे पनि अझै संचालन गर्न सकेको छैन ।
सस्तो लोकप्रियताका लागि विना तयारी भित्र्याइएको रेल अझै संचालनमा आउन नसक्दा सरकारको विकासे नारा फगत गफ मात्रै बन्दै गएको देखिएको छ । जनतासामू सधैं रेल, पानी जहाजको विकासे नारा घन्काउने सरकारले ८४ करोड खर्चिएर ल्याएको रेल ५ महिना बित्दा पनि संचालन गर्न नसकेर आफ्नै भाषण र योजनालाई नै लज्जित बनाएको छ ।
जनतासामू सधैं रेल, पानी जहाज लगायत विकासे नारा घन्काउने सरकारले ८४ करोड खर्चिएर ल्याएको रेल ५ महिना बित्दा पनि संचालन गर्न नसकेर आफ्नै नारा र योजनालाई नै लज्जित बनाएको छ ।
सरकारले ठूलो तामझामले भित्र्याएको जनकपुर–जयनगर रेल संचालन अझै अन्योल देखिएको छ । भारतबाट रेल ल्याएका करिब ५ महिना बित्नलाग्दा समेत कर्मचारी नियुक्त, रेल संचालन सम्बन्धी कानुन अभाव, भारतले पूर्वाधार हस्तान्तरण नगर्नु लगायत कारणले अझै कहिलेदेखि रेल संचालन हुने भन्नेमा अन्योलता देखिएको हो ।
सरकारले असोज २ गते ८४ करोड खर्चेर जनकपुर–जयनगर रुटमा संचालन गर्न रेल ल्याएको थियो । धनुषाको इनरुवामा उक्त रेललाई ५ महिनादेखि त्रिपाल ओढाएर राखिएको छ ।
रेल ल्याएको ५ महिना बित्दासमेत रेल सञ्चालनका लागि हालसम्म कर्मचारी भर्ना गर्न नसकिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौमा कर्मचारी भर्नाका लागि आवेदन खुलाइए पनि लोक सेवा आयोगमार्फत कर्मचारी नियुक्त गरिनुपर्ने भन्दै उक्त ज्ञिापन खारेज गरिएको थियो ।
अहिले अस्थायी कर्मचारी भर्ना गर्दा पनि पछि व्यवस्थापनमा समस्या हुने र स्थायी कर्मचारी नियुक्त गर्न समय लाग्ने भएकाले कर्मचारी नियुक्ति झनै अन्योलता देखिएको हो ।
मन्त्रालय स्रोतका अनुसार अहिले रेल सञ्चालन गर्न कर्मचारी कसरी नियुक्त गर्ने भनेर छलफल भइरहेको छ । ‘पहिले कर्मचारी ल्याउन भ्याकेन्सी खुलाइएको थियो, लोकसेवा नगरी ल्याउन मिल्दैन भनेर त्यो खारेज गरियो, अहिले कसरी कर्मचारी ल्याउन सकिन्छ भनेर छलफल भइरहेको छ,’ स्रोतले चाणक्य पोष्टसँग भन्यो, ‘रेल गुडाउन आवश्यक कानुनका लागि विधेयक संसदबाट पारित हुने अवस्था नरहेकाले अध्यादेश ल्याउने तयारी छ।’
रेल चलाउन आवश्यक पर्ने प्राविधिकसहितका कर्मचारीको अझैसम्म व्यवस्थापन भइसकेको छैन । रेल सञ्चालनका लागि २५० कर्मचारी हाराहारी आवश्यक पर्ने अनुमान गरिएको छ । शुरूमा रेल सञ्चालन गर्नका लागि भारतबाट समेत केही प्राविधिकहरु झिकाउनु पर्ने रेल विभागले जनाएको छ ।
अस्थायी नियुक्ति गरेर सेवा सञ्चालन गर्ने रेलवे कम्पनीको योजना रहेको थियो । त्यसका लागि अनलाइन आवेदन पनि खुलाइएको थियो । त्यसमा ३५ हजारले आवेदन दिएका थिए । तर, अस्थायी नियुक्ति दिएका कर्मचारीका कारण व्यवस्थापनमा अप्ठ्यारो पर्ने भन्दै लोकसेवाले हस्तक्षेप गरेको हो ।
लोकसेवाको प्रक्रिया लामो हुने भएकाले कर्मचारी नआउन्जेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कर्मचारी मागिएको मन्त्रालयले जनाएको छ । सामान्यले ७० जना कर्मचारी उपलब्ध गराउने भएको छ । अधिकांश सडक विभागका इन्जिनियरहरु नै रेलवे तर्फ राखिने तयारी रहेको छ ।
रेलवे सामान्य सञ्चालन गर्न करिब १७० जना कर्मचारी आवश्यक पर्ने छ । ७० जना सामान्य, पुरानो चलाएका ७० जना, २६ जना छुट्टै भारतबाट प्राविधिक भित्र्याउनु पर्ने देखिन्छ । आवश्यक संख्यामा कर्मचारीको टुंगो लागेपछि मात्रै रेल सेवा सञ्चालनको बाटो खुल्ने रेलवे कम्पनीको भनाइ छ ।
रेल सेवा सञ्चालनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर चाहिन्छ । कम्पनीका अनुसार त्यो तयार हुँदैछ । नेपाली पक्षसँग रेल सञ्चालनको अनुभव नभएकाले प्रोसिड्योर भारतीय पक्षलाई बनाइदिन आग्रह गरिएको थियो । भारतले पठाएको ड्राफ्टमा केही संशोधन गरेर पुनः पठाइएको छ ।
प्रोसिड्योरमा प्राविधिक र कर्मचारी व्यवस्थापन, पदीय जिम्मेवारी, रेल छुट्ने तालिका, टिकट व्यवस्थापन, रुट लगायत सञ्चालन सम्बन्धी विषयहरु समावेश हुन्छन् ।
रेल सञ्चालनका लागि मुलुकमा छुट्टै कानुन पनि तयार छैन । रेलवे सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश भएको छ । सदन नचलेका कारण त्यसमा छलफल हुनै पाएको छैन । उक्त विधेयक छलफलमा गएर तत्कालै पास भइहाल्ने अवस्था नहुँदा सोही कारण फास्ट ट्रयाकमा अध्यादेश ल्याएर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी रहेको छ ।
सरकारले यस अघि रेल संचालन गर्ने मिति पटक पटक तोके पनि अझै संचालनमा ल्याउन सकेको छैन । चौथो पटक तोकिएको म्याद अनुसार माघ मसान्त भित्र रेल संचालन गर्ने भनिए पनि त्यो सम्भावना क्षीण हुँदै गएको देखिन्छ ।
यद्यपि, रेलवे कम्पनीले भने भारतबाट जनशक्ति ल्याएर भए पनि माघ मसान्त भित्रै संचालनमा ल्याइने जनाएको छ ।
रेलको लिक जोगाउन सुरक्षाकर्मी तैनाथ
रेलवे ट्रयाकका फलामे क्लिप चोरी हुन थालेछि सुरक्षाकर्मी तैनाथ गरी राखिएको छ । भौतिक संरचना तयार भएको लामो समयसम्म पनि रेल सञ्चालनमा नआउदा मर्मत गर्नुपर्ने अवस्था पुगेको छ । ट्रयाकका क्लिपहरु चोरी भएको, फुटाएको, भवनका झ्यालका सिसाहरु फुटेका छन् । रेल सञ्चालन अघि फिटिङ्सहरुमा फिटिङ लुब्रिकेन्टहरु हालेर मर्मत गर्नुपर्छ ।
भारतको आर्थिक र प्राविधिक सहयोगमा तयार भएको यो रेलमार्ग हस्तान्तरण भएको छैन । सोही कारण भारतले नै मर्मत गरिदिन लागेको जनाइएको छ । अहिले धमाधम मर्मतको काम चलिरहेको रेल विभागले जनाएको छ ।
जयनगर–जनकपुर रेलको संचालन मिति पटक पटक पछि सर्दै आए पनि अहिलेसम्म टुंगो लागेको छैन ।