काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
सेयर बजारमा तीव्र चलखेल हुने महँगो मूल्य भएका यी दुई कम्पनीले धितोपत्र ऐन अनुसार कामकारबाही नगरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।
नेप्सेका अनुसार यी दुई कम्पनीले लामो समयदेखि त्रैमासिक वित्तीय विवरण नबुझाएको, नियमित साधारणसभा गर्न नसकेको भन्दै कारबाही स्वरुप कारोबार रोक्का गरिएको हो ।
धितोपत्र सूचीकरण नियमावलीको विनियम २०७५ को विनियम (२२) (१) (क) अनुसार सूचीकृत संगठित संस्थाले आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र सो आर्थिक वर्षको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन नेप्सेमा बुझाउनु पर्ने प्रावधान छ । तर, यी दुई कम्पनीले त्यसको बेवास्ता गर्दै लामो समयदेखि विवरण बुझाएका छैनन् ।
नेपाली सेयर बजारको दोस्रो महँगो सेयर मूल्य रहेको राष्ट्रिय बीमा कम्पनीले विगत ८ वर्षदेखि साधारणसभा नै गराएको छैन । आइतबार यसको प्रतिकित्ता सेयर मूल्य १६ हजार ६७० रुपैयाँ रहेको छ ।
यस्तै, विशाल बजार कम्पनीले पनि ५ वर्षदेखि वित्तीय विवरण बुझाएको छैन् । कम्पनीले अन्तिम पटक आर्थिक वर्ष २०७२/७३ मा वित्तीय विवरण सार्वजनिक गरेको थियो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८८० रुपैयाँ रहेको छ ।
