६ महिनामै भित्रियो ४८ अर्बको पेट्रोलियम पदार्थ

वीरगञ्ज । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ ।

 

सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ ।

 

तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनामा ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ । यसमध्ये २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो ।

 

तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा डिजेल आयात ३ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण शुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए।

 

चालू आर्थिक वर्षको ६ महिनामा ५ लाख ४ हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको ६ महिनामा ४ लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो । भन्सार कार्यालयले चालू आवको ६ महिनामा डिजेलबाट करीब २३ प्रतिशत राजश्व उठाएको छ ।

 

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट भन्सार कार्यालयले १६ अर्ब ६२ करोड रुपैयाँ डिजेलबाटै राजश्व उठाएको छ ।

 

सो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ । पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेर गएको वीरगञ्ज भन्सारले जनाएको छ ।

 

भन्सार नाकाबाट अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार २०४ लिटर हवाई इन्धन आयात भएकामा चालू आर्थिक वर्षको सोही अवधिमा २६ हजार ११२ लिटर हवाइ इन्धन भित्रिएको हो ।

 

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ । सो अवधिमा ४ लाख ८ हजार मेट्रिक टन कोइला नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा २ लाख ५७ हजार मेट्रिक टन मात्र कोइला भित्रिएको भन्सारको तथ्याङ्कले जनाएको छ ।

 

भारतको मोतिहारीबाट बाराको अमलेखगञ्ज डिपोसम्म पाइपलाइनमार्फत आउने डिजेलको परिमाण नाप्न अमलेखगञ्ज डिपोमा विलिङ मेसिन राखिएको छ ।

 

सोही विलिङ मेसिनबाट के कति परिमाणको डिजेल आउँछ त्यही अनुसार भन्सारले राजश्व उठाउने गरेको छ । त्यहाँ रहेको मिटरमा परिमाण देख्न सकिन्छ ।

सेयर बजारमा किन गयो भीषण पहिरो ? लगानीकर्ताले एकैदिन गुमाए ७३ अर्ब Read Previous

सेयर बजारमा किन गयो भीषण पहिरो ? लगानीकर्ताले एकैदिन गुमाए ७३ अर्ब

सेयर बजारमा ‘कर्नरिङ’ हुने विशाल बजार र राष्ट्रिय बीमा कम्पनीको कारोबार रोक्का, यस्तो छ कारण Read Next

सेयर बजारमा ‘कर्नरिङ’ हुने विशाल बजार र राष्ट्रिय बीमा कम्पनीको कारोबार रोक्का, यस्तो छ कारण