उपत्यकाका अलपत्र ९ सडक : कतै स्थानीयको अवरोध कतै ठेकेदारको बेइमानी, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत विभिन्न ९ सडकको काम शुरू भएको वर्षैं बिते पनि अझै ती आयोजनाको काम पूरा हुन सकेको छैन ।

 

ठेकेदारको लापारबाही, स्थानीयको अवरोध, जग्गाको मुआब्जा विवाद, अदालतको स्टेअर्डर, कोरोना लगायत कारणले ती आयोजनाको कामले गति लिन नसकेका हुन् ।

 

हालसम्म उक्त ९ सडक आयोजनाहरुको समग्र भौतिक प्रगति ७० प्रतिशत हारीहारीमा भएको आयोजनाका सूचना अधिकारी अशोक यादवलले जानकारी दिए ।

 

ठेकेदारको लापारबाही, स्थानीयको अवरोध, जग्गाको मुआब्जा विवाद, अदालतको स्टेअर्डर, कोरोना लगायत कारणले ती आयोजनाको कामले गति लिन नसकेका हुन् ।

 

उनका अनुसार केही आयोजना यथास्थितिमै भए पनि पूरा गर्ने गरी अगाडि बढाइएको छ । आयोजना अन्तर्गतका विस्तार कामहरू आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको यादवले बताए ।

 

उनले विगतमा कोभिड १९ का कारण समस्या भए पनि पछिल्लो समय निर्माणले गति लिएको बताए । ‘केही समय अघि कोभिडका कारण कामले गति लिन सकेको थिएन आउदो जेठ मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ,’ यादवले चाणक्य पोष्टसँग भने ।

 

उनले हाल उपत्यका विस्तार आयोजना अन्तर्गत निर्माणाधीन अवस्थामा रहेका कतिपय योजनाहरू अदालतबाट ‘स्टे अर्डर’ का कारण अघि बढ्न नसकेको बताए ।

 

यस्तो ९ सडक आयोजनाको पछिल्लो अवस्था

 

चाबहिल–जोरपाटी–साँखु सडक

 

यस सडक आयोजना अन्तर्गत ८० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डमा ४ ठेक्कामा काम भइरहेको छ । यस अन्तर्गत ६५ प्रतिशतदेखि ८० प्रतिशत हाराहारीमा सडक विस्तारको काम सम्पन्न भएको यादवले बताए ।

यस अन्तर्गत चालू आर्थिक वर्षभित्र विस्तार सम्पन्न गरी कालोपत्र गरिने बताए । चाबहिल–साँखु सडकखण्ड २०७२ असोज १३ गतेबाट निर्माण शुरू हुने गरी सम्झौता भएको थियो । आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न हुने भनिए पनि त्यसो हुन सकेन ।

 

उक्त सडकखण्डको साढे ७ किलोमिटर सडक कालोपत्र भइसकेको छन् । झण्डै ४ किलोमिटरको हाराहारीमा सडक कालोपत्र गर्न बाँकी रहेको छ । बाँकी रहेका काम यथास्थितीमा चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको यादवले बताए ।

 

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्मा ९० प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । सो खण्डमा ३ वटा ठेक्का रहेको छ । ३ वटै ठेक्कामा ९० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।

 

७० करोड लगानीमा विस्तार हुन लागेको सो आयोजनामा हालसमम ९२ करोड रुपैयाँ खर्च भइसकेको विस्तार आयोजनाका सूचना अधिकारी असोक यादवले जानकारी दिए ।११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गर्न लागिएको हो ।

 

त्रिपुरेश्वर–नागढुंगा सडक आयोजना २०७२ असार ३१ गतेबाट शुरू हुने गरी सम्झौता भएको थियो । २०७६ चैत्र महिनाभित्र सम्पन्न गर्ने तयारी भए पनि कोभिड १९ का कारण चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने राखिएको छ ।

 

लगनखेल–सातदोबाटो सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । अन्तिम चरणमा रहेको सो आयोजना अबको केही महिनामै सम्पन्न हुने उनको भनाइ छ ।

५ करोड ७३ लाख रुपैयाँ लगानीमा विस्तार भइरहेको यस आयोजनामा हालसम्म ५ करोड ४२ लाख रुपैयाँ खर्च भइसकेको छ । यो आयोजना २०७३ जेठ २६ गतेबाट शुरू गरिएको थियो । २०७७ जेठ २० गतेसम्म सम्पन्न गर्ने भनिएको यस आयोजनाको केही काम कोभिडका कारण रोकिएको थियो ।

 

इमाडोल–सिद्धिपुर–गोदावरी–लामाटार सडक

 

यस आयोजना अन्तर्गत हालसम्म ७० देखि ८० प्रतिशत भौतिक प्रगति भएको उपत्यका विस्तार आयोजनाले जनाएको छ । ३ ठेक्कामा विभाजन गरी भइरहेको यस आयोजना अन्तर्गत स्थिानिय वासिन्दाहरूबाट घर जग्गा मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै घर टहरा भत्काउन दिएका छैनन् । विद्युतका पोल, रुख हटाउन नदिएका कारण यस ण्डमा धेरै भौतिक प्रगति देखिन नसकेको यादवले बताए ।

 

उनका अनुसार यस आयोजनामा हालसम्म ७० करोड रुपैयाँ बढी खर्च भइसकेको छ । यस आयोजनाका लागि ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ८ किलोमिटर लम्बाइ रहेको सो सडक चालू आर्थिक वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । सो सडकखण्ड २०७७/७८ भित्र सक्ने लक्ष्य रहेको छ ।

 

उक्त खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काइएको थियो । चालू आवमा लामाटारमा समेत ३०/३५ वटा घर भत्काइएको छ । अन्य बाँकी रहेका घर नभत्काई यथास्थितिमै सडक विस्तार अघि बढाइने योजनाले जनाएको छ ।

 

जोरपाटी–सुन्दरीजल सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ५५ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको छ । ७ किलोमिटर लम्बाइ यो सडक निर्माण चालू आवभित्र सम्पन्न गर्ने यादव बताउँछन् ।

उनले स्थानीयको विवादका कारण रो सिमाङकनमा ढिलाइ भएको हुँदा हाल मात्र काम शुरू गरिएको बताए । घर टहरा हटाएर विस्तार गर्न खोज्दा स्थानीयले विरोध सृजना गरेपछि सो खण्डमा यथास्थितिमा सडक कालोपत्र गरिने भएको हो ।केही खाली स्थानमा काम शुरू गरिए पनि जग्गाको समेत मुआब्जा माग्दै स्थानीयले अदालतमा मुद्दा हालेपछि सो मुद्दा विचाराधीन रहेको हुँदा कामले गति लिन नसकेको यादवले बताए ।

 

नख्खु खोला–भैँसेपाटी–बुंमती सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ६५ देखि ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सडक विस्तारका क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक सीमा क्लियर गर्ने काम नहुँदा कार्य प्रभावित भएको यादवले बताए । उनले यस खण्डमा केही स्थानीयहरूले विद्युतका पोल, टेलिफोनका पोल र रुखहरू हटाउन नदिएको जानकारी दिए ।

 

यस आयोजना अन्तर्गत ५६ कारोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । हालसम्म ३१ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ । २०७३/७४ मा शुरू भएको यस आयोजना चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

ढोलाहिटी–चापागाउँ–लेले सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ५० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डको शुरूमा १७.२० मिटर चौडाइमा सडक निर्माण भएको हुँदा हालका २० मीटर को सट्टा १७.२० मटिर नै गर्न स्थिानीय वासिन्दाले माग गरेका छन् । स्थानीयको माग अनुसार गर्न नगरपालिकाबाट समेत पत्रचार भएतापनि मापदण्ड घटाइ निर्माण गर्न नसकिने भएको हो ।

सर्वोच्च अदालको स्टेअडरका कारण घर हटाउन नसकिएको यादव बताउछन् । उनले घर टहरा हटाउने प्रयास गर्दा स्थानीयहरूले अवरोध सृजना गरेको हुँदा काम अघि बढ्न नसकेको बताए ।

 

२०७३/७४ मा शुरू भएको यस आयोजना हालसम्म ५० प्रतिशतका हाराहारीमा मात्र पूरा भएको छ । यस आयोजनामा १ अर्ब ८ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस आयोजनामा हालसम्म ४१ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । उनले यस आयोजना यथास्थितीमा भए पनि यही आवभित्र पूरा गरिने बताए ।

 

पेप्सीकोला–सल्लाघारी सडक

 

यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । स्थानीयले जग्गाको मुआब्जा माग्न थाले पछि निर्माण कार्य अघि नबढेको यादवले बताए ।

 

उनले उक्त सडकको बाहखा बजार भन्दा अगाडि घरहरू भत्काउनु पर्नेमा स्थानीय वासिन्दाहरूको अवरोधका कारण उपत्यका विकास प्राधिकरणले साइट क्लियर गर्न नसक्दा हाल सो खण्डमा कुनै काम अघि बढ्न नसकेको बताए ।

साढे ४ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभिले निर्माण ठेक्का लिएको छ । ४९ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएको यस आयोजनामा हालसम्म १७ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ ।

 

कर्मनाशा खोला–हरिसिद्धि–गोदावरी सडक

 

यस सडक आयोजना अन्तर्गत हालसम्म ३५ देखि ५५ प्रतिशत भौतिक प्रगति भएको छ । २ ठेक्कामा अघि बढी रहेको यस आयोजनाले साढे ७ किलोमिटर सडक विस्तार गरिँदै छ । २०७३÷७४ मा शुरू भएको यस आयोजनामा हालसम्म प्रगति देखिन सकेको छैन ।

 

सर्वोच्च अदालतले स्टेअर्डर जारी गरेका कारण १ सय २० घर हटाउन सकिएको छैन । सो खण्डमा ४०० घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन । आयोजना अन्तर्गत ६७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । हालसम्म २० करोड ४६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

 

सो खण्डमा हिमपाइप हाल्दै सडक मिलाउने काम तीव्र गतिमा भइरहेको छ । साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्ड चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

२०७३ असारमा शुरू भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको छैन । निर्माणधीन ठेकेदारले म्याद थपका लागि निवेदन पेस गरेको उनले जानकारी दिए ।

 

 

बुद्धको भ्यालेन्टाइन अफर : माउन्टेन फ्लाइटमा एउटा टिकट किन्दा अर्को सित्तैमा, साथै चकलेट उपहार Read Previous

बुद्धको भ्यालेन्टाइन अफर : माउन्टेन फ्लाइटमा एउटा टिकट किन्दा अर्को सित्तैमा, साथै चकलेट उपहार

बैंकको ब्याजदर सस्तो हुँदै, कुन बैंकबाट ऋण लिँदा बढी फाइदा ? (बेसरेट सहित) Read Next

बैंकको ब्याजदर सस्तो हुँदै, कुन बैंकबाट ऋण लिँदा बढी फाइदा ? (बेसरेट सहित)