अब बैंकहरुले काठमाडौं बाहिर पनि सुन बेच्ने

काठमाडौं । नेपाल बैंकर्स सङ्घले काठमाडौँ उपत्यका बाहिरबाट पनि सुन विक्रीवितरण गर्न सहमति जनाएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

 

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौँ उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र तोकिएका स्थानबाट सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

 

सङ्घका अध्यक्ष भुवनकुमार दाहाललगायत पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन तयार रहेको बताए।

 

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपि सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । सोही कारण उपत्यका बाहिरका व्यवसायी सुन खरीदका लागि काठमाडौँमा आउनुपर्ने झन्झट कायम छ ।

 

छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सम्बद्ध पक्ष तयार रहेको सङ्घका पदाधिकारीले विश्वास दिलाए ।

 

राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्ष सङ्घको सिफासिरमा बैंकले विदेशबाट कच्चा सुनको आयात गरी महासङ्घको सिफारिशमा व्यवसायीलाई सुन उपलब्ध गराउँदै आएको छ ।

 

मोफसलका जिल्लाबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौँकोभन्दा बढी लिने, सुनको स्टक राख्ने, बैंकअनुसार नै फरकफरक रहँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरीद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरी पर्याप्तमात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, कति कित्ता भर्ने कति पाए ? Read Previous

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, कति कित्ता भर्ने कति पाए ?

अमेरिकी अर्थतन्त्र सन् १९४६ यताकै सबैभन्दा खराब अवस्थामा Read Next

अमेरिकी अर्थतन्त्र सन् १९४६ यताकै सबैभन्दा खराब अवस्थामा