नेप्सेमा करेक्शन आए पनि कारोबारले बनायो नयाँ रेकर्ड, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

 

बुधबार नेप्से २४४१ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको थियो । सूचकमा गिरावट आए पनि आज कारोबार रकमले भने इतिहासकै सर्वाधिक कारोबारको रेकर्ड बनाएको छ ।

 

आज ९ अर्ब ८९ करोड रुपैयाँ बढीको कारोबार हुँदै एकै दिन इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको हो । यसअघि माघ ११ गते अहिलेसम्मकै धेरै ९ अर्ब ३७ करोड बढीको कारोबार भएको थियो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १६.५५ अंकले घटेर २४२५.२९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ बराबरको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ वटा समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४१०.३९ अंकले बढेको छ भने विकास बैंक समूह ४३.२५ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०९ कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ५७ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालय डिस्ट्रिलरी र पुनर्बीमा कम्पनी समान ३२÷३२ करोड हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा पनि आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सूर्योदय लघुवित्त, सगरमाथा इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज सिद्धार्थ इक्वीटी फन्डका सेयरधनीले सबैभन्दा धेरै ६.७८ प्रतिशत गुमाएका छन् ।

सामसुङको सञ्चालन नाफा ३० प्रतिशतले वृद्धि Read Previous

सामसुङको सञ्चालन नाफा ३० प्रतिशतले वृद्धि

अर्को 'मेलम्ची’ बन्ने बाटोमा फास्ट ट्रयाक, साढे ३ वर्षमा जम्मा ११.११% काम पूरा (फोटोफिचर) Read Next

अर्को 'मेलम्ची’ बन्ने बाटोमा फास्ट ट्रयाक, साढे ३ वर्षमा जम्मा ११.११% काम पूरा (फोटोफिचर)