अर्को ‘मेलम्ची’ बन्ने बाटोमा फास्ट ट्रयाक, साढे ३ वर्षमा जम्मा ११.११% काम पूरा (फोटोफिचर)

काठमाडौं । नेपालमा ठूला विकास पूर्वाधार आयोजना समयमै पूरा नहुने रोगबाट ग्रसित छन् । झन यसमा पनि राष्ट्रिय गौरवका योजनाको प्रगति हरिबिजोग रहेका छन् ।

 

निकै चर्चामा रहेका मेलम्ची खाने पानी, माथिल्लो तामाकोशी, फास्ट ट्रयाक, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल लगायत करिब २ दर्जन आयोजनामध्ये एउटा पनि तोकीएकै समयमा पूरा भएका छैनन् ।

 

करिब ३ दशकदेखि चर्चामा रहेका मेलम्ची अझै सम्पन्न हुन सकेको छैन भने अझै कहिले पूरा हुने हो निश्चित छैन । दर्जन पटक आयोजना सम्पन्न गर्ने मिति तोकीए पनि अझै पूरा हुन सकेको छैन । यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो ।

 

अहिले राष्ट्रिय गौरवका भनिएका अधिकांश आयोजनाको हालत मेलम्चीको जस्तै छ । अहिले अर्का एउटा बहुचर्चित तथा महत्वकांक्षी आयोजना काठमाडौं तराई द्रुतमार्ग (फस्टट्रयाक) पनि अर्को मेलम्ची बन्ने बाटेको देखिएको छ ।

 

औपचारिक रुपमा निर्माण शुरु भएको साढे ३ वर्ष बिते पनि आयोजनाको हालसम्म जम्मा ११.११ प्रतिशत मात्र काम पूरा भएको छ ।

 

निर्माणको जिम्मा लिएको नेपाली सेनाले दिएको जानकारी अनुसार पुस मसान्तसम्म ९.५२ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाले हालसम्म १७ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ । आयोजनाको कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ।

 

आर्थिक वर्ष २०८०/८१ सम्म सम्पन्न गर्नुपर्ने आयोजना अहिलेसम्म ११ प्रतिशत मात्र काम हुनाले समयमै सकिनेमा आशंका उब्जिएको छ । अब करिब ३ वर्षमा ९० प्रतिशत काम सम्पन्न गर्नु पर्ने हुन्छ । अहिलेकै गतिमा काम भएमा त्यो असम्भव जस्तै देखिन्छ । यसले के देखाउँछ भने कतै यो आयोजना पनि अर्को मेलम्ची त बन्दैन ? आशंका उब्जाएको छ ।

 

किन ढिला भयो त आयोजनाको काम ?

 

नेपाली सेनाका अनुसार विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समयमै नबन्नु, डीपीआर स्वीकृतिमा ढिलाइ हुनु, अन्तर्राष्ट्रिय परामर्शदाता छनोटमा ढिलाइ, कोरोना महामारी लगायत कारण आयोजनाले गति लिन नसकेको हो ।

अहिले सुरुङमार्ग निर्माण अघि बढाउन जियोटेक्निकल तथा जियोफिजिकल इन्भेष्टिगेशन कार्यको लागि परामर्शदाता छनौट भएर काम शुरु भइसकेकाले अब कामले गति लिने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आयोजना अन्तर्गतको मुख्य काम सुरुङमार्ग बनाउन दुई कम्पनीलाई सर्टलिस्ट गरिसकेको छ ।

 

सेनाले गरेको काम

 

सेनाले २०७४ साउनदेखि द्रुतमार्ग निर्माणको काम शुरु गरेको थियो । अहिले ‘फिलिङ’, ‘कटिङ’, पर्खाल लगाउने, जमिन बाँध्ने काम हुँदै आएको सेनाले जनाएको छ । यो कामलाई सेनाले ‘माइनर कन्स्ट्रक्सन’ मानेको छ ।

 

कुल ७२.५ किलोमिटर लम्बाइ सडकखण्ड मध्ये (३ वटा सुरुङमार्ग ६.४१ किमी र पुलहरुको लम्बाई १०.५९ किमी) बाहेका ५५.५ किलोमिटर सडक खण्ड निर्माण गर्नुपर्ने हुन्छ । त्यसमध्ये अहिलेसम्म ४४. १ किलोमिटर सडक खण्डमा माटोर ढुंगा काट्ने र भर्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सेनाका अनुसार चालू आवमा द्रुतमार्गको ४२.८५ प्रतिशत भौतिक प्रगति र ४२.८० प्रतिशत वित्तीय प्रगति रहेको छ । चालू वर्षमा सेनाले कुल कामको थप ५.१० प्रतिशत काम सम्पन्न गराई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति गर्ने लक्ष्य राखेको छ ।

 

द्रुतमार्ग परियोजनामा तीनवटा सुरुङ र सानारठूला गरी ८७ वटा पुल निर्माण हुनेछन् । तीमध्ये १७ वटा पुल विशेष प्रकृतिका हुने छन् ।

 

कसरी भइरहेको छ काम

 

नेपाली सेनाका अनुसार समयमै काम सक्नका लागि आयोजनालाई ११ वटा खण्डमा विभाजन गरेर समग्र योजना बनाएर निर्माण अघि बढाइएको छ ।

 

ढुङ्गा माटो तथा संरचना निर्माण कार्य अन्तर्गत आव २०७४/७५ मा २० वटा र २०७५/७६ मा १० वटा प्याकेज गरी कुल ३० वटा प्याकेजमा निर्माण कार्य भइरहेको सेनाले जनाएको छ।

 

३० वटा ठेक्का प्याकेजमध्ये १५ वटा प्याकेजहरुको कार्य सम्पन्न भएको छ। ४ वटा प्याकेजको न्यून प्रगति तथा साइट अवस्थाको कारण ठेक्का रद्धको नियमानुसारको कारबाही अगाडि बढाइएको सेनाले जनाएको छ ।

 

नेप्सेमा करेक्शन आए पनि कारोबारले बनायो नयाँ रेकर्ड, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल Read Previous

नेप्सेमा करेक्शन आए पनि कारोबारले बनायो नयाँ रेकर्ड, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल

उद्योग वाणिज्य महासंघले दियो ८ पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी, कसले के पाए ? Read Next

उद्योग वाणिज्य महासंघले दियो ८ पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी, कसले के पाए ?