नबिललाई पछि पार्दै ग्लोबल आइएमई र एनआइसी एशिया, कुन सूचकमा को तगडा ?

काठमाडौं । माघ लागेसँगै वाणिज्य बैंकहरुले धमाधम चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।

 

यसैक्रममा आज (बिहीबार) करिब १ दर्जन बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । ती मध्ये ३ ठूला बैंकको दोस्रो त्रैमासको वित्तीय विवरणको यहाँ समीक्षा गरिएको छ ।

 

दशकौंदेखि अधिकांश सूचकमा शीर्ष स्थानमा रहँदै आएको निजी क्षेत्रको अग्रणी नबिल बैंक क्रमशः पछि पर्न थालेको छ ।पछिल्लो समय आक्रमक रुपमा व्यावसाय विस्तार गरेका ग्लोबल आइएमई बैंक र एनआइसी एशिया बैंकले दोस्रो त्रैमासमै नबिललाई पछि पार्न सफल भएका हुन् ।

 

गत वर्ष जनता बैंकलाई बिग मर्जर गरेको ग्लोबल आइएईले अधिकांश सूचकमा नबिललाई पछि पारेको छ । यस्तै, देशकै नम्बर १ बन्ने दौडमा रहेको एनआइसी एशियाले पनि दशकौंदेखिको लिगेसी बोकेको नबिललाई पछि पार्न सफल भएको छ ।

 

बिग मर्जबाट सिनर्जी प्राप्त गरेको ग्लोबल आइएमई बैंक सम्भवद दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्ने देखिएको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका १ दर्जन बढी बैंकमध्ये ग्लोबल नम्बर १ बनेको हो ।

 

यद्यपी, अझै १ दर्जन बढी बैंकको वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । तर, ग्लोबलसँग प्रतिस्पर्धि देखिएका अधिकांश ठूला बैंकले रिपोर्ट सार्वजनिक गरिसकेकाले ग्लोबल नै खुद नाफामा शीर्ष स्थानमा रहने देखिन्छ ।

 

यी हुन् २ अर्ब बढी नाफा कमाउने ३ बैंक

 

ग्लोबल आइएमई बैंक

 

ग्लोबलले दोस्रो त्रैमाससम्म २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३७.३२ प्रतिशतले धेरै हो । ग्लोबलले गत आवको दोस्रो त्रैमाससम्म १ अर्ब ६८ करोड ५९ लाख नाफा कमाएको थियो । ग्लोबलले नबिलको भन्दा करिब ३० करोड बढी खुद मुनाफा कमाएको छ ।

 

समीक्षा अवधिमा ग्लोबलले निक्षेप संकलन १०.४१ प्रतिशत र कर्जा लगानी ७.०७ प्रतिशतले बढाएको छ । बैंकले पुससम्ममा २ खर्ब ३४ अर्ब ४१ करोड निक्षेप संकलन गरी २ खर्ब ३ अर्ब ७८ करोड कर्जा लगानी गरेको छ ।

२१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख र रिटेन्ड अर्निङ्गमा १ अर्ब ५२ करोड १० लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ रहेको छ ।

 

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १७.७७ रुपैयाँबाट बढेर २१.४० रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेय नेटवर्थ १४२.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.८४ गुणा, खराब कर्जा १.७२ प्रतिशत, बेसरेट ६.७६ प्रतिशत र स्प्रेडदर ४.६९ प्रतिशत रहेको छ ।

 

एनआइसी एशिया बैंक

 

खुद मुनाफामा नबिललाई पछि पार्न सफल एनआइसी एशियाले दोस्रो त्रैमाससम्म २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा २.१९ प्रतिशत बढी हो। एनआइसीले गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

पुससम्म ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख र रिटेन्ड अर्निङ्गमा ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

 

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ६८ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब २३२ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

 

खुद नाफा न्यून बढे पनि बैंकको प्रतिसेयर आम्दानी ५.८८ रुपैयाँले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ४१.६१ रुपैयाँबाट घटेर ३५.७३ रुपैयाँमा आइपुगेको छ ।

 

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५७.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.५२ गुणा, खराब कर्जा ०.४३ प्रतिशत, आधार दर ६.६५ प्रतिशत र स्प्रेड दर ४.४० प्रतिशत रहेको छ।

 

नबिल बैंक

 

विगतका वर्षहरुमा सबैभनद धेरै नाफा कमाउँदै आएको नबिल बैंक दोस्रो त्रैमासमा तेस्रो स्थानमा धकेलिएको छ । नबिलले चालू आवको दोस्रो त्रैमाससम्म २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलनामा १.२६ प्रतिशतले कमी हो। नबिलले गत आवको पुससम्म २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

 

१३ अर्ब ४८ करोड १ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ३७ करोड रुपैयाँ छ । समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

 

बैंकले निक्षेप संकलन ४.९० प्रतिशत र कर्जा लगानी १५.१८ प्रतिशतले वृद्धि गरेको छ । समीक्षा अवधिसम्म बैंकले २ खर्ब १ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

बैंकको मुनाफा घटेसँगै प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । गत वर्षको दोस्रो त्रैमासमा ४०.४४ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालू आवमा घटेर २९.९१ रुपैयाँमा सीमित भएको छ ।

 

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २१४.०८ रुपैयाँ, खराब कर्जा ०.६० प्रतिशत, मूलय आम्दानी अनुपात ३७.८५ गुणा, सीसीडी रेसियो ७२ प्रतिशत, आधारदर५.७६ प्रतिशत र स्प्रेड दर ४.७ प्रतिशत रहेको छ ।

 

नोट : माथि प्रस्तुत तथ्यांकहरु सम्बन्धित बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा आधारित छन् ।

निजी क्षेत्रका ३ वटै संगठन एकताबद्ध हुनुको विकल्प छैन : अध्यक्ष गोल्छा Read Previous

निजी क्षेत्रका ३ वटै संगठन एकताबद्ध हुनुको विकल्प छैन : अध्यक्ष गोल्छा

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द, मूल्यमा कस्तो पर्ला असर ? Read Next

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द, मूल्यमा कस्तो पर्ला असर ?