काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने ‘कर्पोरेट पे’ प्रणालीको शुरूवात गरेको छ ।
उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सूचना अधिकारी महेश मिश्र र क्लियरिङ्ग हाउसका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरे ।
बैंकको संस्थागत ग्राहकले यस सेवाको प्रयोग गर्दै डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछ् ।
उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस वा एनसीएचएल आइपीएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहकले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानी गर्न सक्नेछन् ।
संस्थागत ग्राहकल यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पूरा गरी बैंकमा आवेदन दिनुपर्नेछ । साथै, ग्राहक महानुभावहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ ।
यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुदाँ संस्थागत ग्राहक महानुभावहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल देशभरका ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।