होटल संघ र ट्रेड युनियनबीच १० बुँदे सहमति, श्रमिकले मासिक ५ हजार पाउने

काठमाडौं । होटेल संघ नेपाल (हान) र होटल क्षेत्रमा क्रियाशील केन्द्रीय ट्रेड युनियनबीच १० बुँदे नयाँ सामूहिक सहमति भएको छ ।

 

संघ र युनियनबीच यसअघि भएको पारिश्रमिक सम्बन्धी सम्झौता पुस १६ गते सकिएसँगै नयाँ सम्झौता भएको हो ।

 

हालसम्म पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएकाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण होस् भन्ने हेतुले नयाँ सम्झौता गरिएको हानले जनाएको छ ।

 

आगामी एक वर्षका लागि मान्य हुने गरी होटल संघ नेपालको तर्फबाट अध्यक्ष सृजना राणा, होटल संघ नेपालका पदाधिकारी र तपसिलमा उल्लिखित पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीनवटा केन्द्रीय ट्रेड युनियनका अध्यक्षहरु र पदाधिकारीहरुबीच सहमति भएको होटल एसोसिएसन हानले जनाएको छ ।

 

सम्झौता अनुसार अब पाँचतारे होटेलले श्रमिक तथा मजदूरलाई मासिक ५ हजार, चारतारे होटेलले ४ हजार, तीनतारे होटेलले ३ हजार, दुईतारे होटेलले २ हजार ५००, एकतारे होटेलले मासिक २ हजार रुपैयाँ दिने सहमति भएको छ ।

 

पर्यटकस्तरीय होटेलका श्रमिक तथा कर्मचारीको हकमा भने सञ्चालक र कर्मचारीबीचको आपसी सहमतिमा निर्धारण हुने जनाइएको छ । १ वर्षको अवधिभरी चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता श्रमिक तथा कर्मचारीहरुलाई उपलब्ध नगराउने सम्झौता भएको छ ।

 

यस्तै, होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीहरुलाई काममा लगाइनेछ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीहरुलाई निजहरुले खाइपाई आएको पारिश्रमिक उपलब्ध गराइनेछ ।

 

काममा नबोलाईएमा यस सहमतीमा तोकिएको रकम उपलब्ध गराउनु पर्नेछ । यस सहमतीको समयावधिभरी तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई काममा लगाइने छैन ।

 

तर बैंकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई व्यवस्थापनले काममा लगाउन सक्नेछ ।

 

यदि कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सहमती अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सुचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सहमती अनुसार निजले बुझिलिएको रकम निजले प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शिर्षकको रकमबाट कट्टी गरिने संघले जनाएको छ ।

३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण ८०% सम्पन्न, नयाँ वर्षमा उद्घाटन गर्ने लक्ष्य Read Previous

३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण ८०% सम्पन्न, नयाँ वर्षमा उद्घाटन गर्ने लक्ष्य

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, १ महिनामा ४४ मिटर सुरुङ खनियो Read Next

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, १ महिनामा ४४ मिटर सुरुङ खनियो