नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, १ महिनामा ४४ मिटर सुरुङ खनियो

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणलाई गति लिएको छ । औपचारिक रुपमा सुरुङ खन्न शुरू गरिएको एक महिनाको अवधिमै ४४ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

 

हालसम्म मुख्य सुरुङमार्ग अन्तर्गत काठमाडौंतर्फ ४ मिटर र आपतकालीन उद्धार सुरुङ (स्केप्ट टनेल) अन्तर्गत धादिङतर्फ ४० मिटर गरी कुल ४४ मिटर सुरुङ खनिएको आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए ।

 

हालसम्म मुख्य सुरुङ अन्तर्गत काठमाडौंतर्फ ४ मिटर र आपतकालीन उद्धार सुरुङ (स्केप्ट टनेल) अन्तर्गत धादिङतर्फ  ४० मिटर गरी कुल ४४ मिटर सुरुङ खनिसकिएको छ ।

 

उनका अनुसार धादिङ (पश्चिम) तर्फ पुस ६ बाट सहायक सुरुङमार्ग (सर्भिस ट्रयाक) खन्न थालिएको थियो । सो तर्फ हालसम्म ४० मिटर सुरुङ खनिसकिएको छ भने मुख्य सुरुङ खन्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

 

यस्तै, नागढुंगा–सिस्नेखोला सुरुङ आयोजना अन्तर्गत शुक्रबारबाट काठमाडौं (पूर्व) तर्फबाट मुख्य सुरुङ खन्न शुरू भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित टुटेपाखाबाट सुरुङ खन्ने काम ४ मिटर पूरा भएको निर्देशक शाक्यले बताए ।

 

उनका अनुसार १४ महिनाभित्रर निर्माण सक्ने लक्ष्य सहित दुई सिफ्टमा काम भइरहेको छ । उनले दिन र रातमा गरेर ४÷४ घण्टाको ओभरटाइम सहित सुरुङ निर्माणको कामलाई तीव्रता दिइएको छ ।

 

धादिङ तर्फ जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले २४ घण्टै काम गरिरहेको उनले बताए । ‘दुबै तर्फ सुरुङको कामले गति लिइसकेको छ, समयमै सक्ने गरी काम गरिरहेका छौँ, धादिङ तर्फ २४ घण्टा काम भइरहेको छ, चाँडै दुवै तर्फबाट मुख्य र सहायक दुवै सुरुङ खन्न थालिने छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

उनले वातावरण तथा स्थानीयलाई ध्यानमा राखि साउण्डप्रुफ हालेर काम भइरहेको बताए । धादिङतर्फ भने आपत्कालीन उद्धार (स्केप्ट टनेल) सुरुङको कामअघि बढाइएको हो । स्केप टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी निर्माण गरिँदै छ । मुख्य सुरुङबाट ३० मिटरको दुरी (चौडाई) मा हुनेगरी स्केप टनेल खनिएको छ । यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ ।

 

कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ । यो टनेल मूल सुरुङको एकतिहाई ब्यास (डायमिटर) को हुनेछ । अर्थात् मुख्य टनेल स्केप टनेलभन्दा तीन गुणा ठूलो हुनेछ ।

 

मुख्य सुरुङमार्गको काम पनि यही टनेलबाट भित्र गएर खनिने बताइएको छ । ‘हामी स्केप टनेलबाटै भित्र खन्दै जान्छौं । एउटा क्रस प्यासेज आएपछि हामी गएकै बाट मुख्य सुरुङ पनि खन्छौ,’ शाक्यले भने ।

 

अहिले धादिङतिरको पोर्टलबाट सुरुङ खन्ने काम भइरहेको छ । यो सुरुङको थोरै हिस्सा चालू रहेको पृथ्वी राजमार्गमुनिको भागमा समेत पर्ने भएकाले यसअघि उक्त सडकलाई असर नपरोस् भनेर सुरुङ खन्ने काम विस्तारै गरिएको थियो । तर अब भने सडक पार गरिसकिएकाले तीव्र गतिमा काम गर्न सकिने आयोजनाका इन्जिनीयरको भनाइ छ ।

 

सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरी यस सुरुङमार्गको डिजाइन गरिएको छ ।

 

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको १५ महिना बितिसकेको छ  । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।

होटल संघ र ट्रेड युनियनबीच १० बुँदे सहमति, श्रमिकले मासिक ५ हजार पाउने Read Previous

होटल संघ र ट्रेड युनियनबीच १० बुँदे सहमति, श्रमिकले मासिक ५ हजार पाउने

सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान, यी ७ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान, यी ७ कम्पनीका लगानीकर्ता भए मालामाल