काठमाडौं । नारायणी विकास बैंकको १०० प्रतिशत हकप्रदसेयर आजदेखि विक्री खुला भएको छ ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर विक्री खुला गरेको हो ।
बैंकको हकप्रदमा आगामी फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । पुस २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
बैंकको हकप्रद सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
बैंकको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआइआर सिंगल सी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँदछ ।
फेरि २०० प्रतिशत हकप्रद प्रस्ताव
बैंकले अहिले १०० प्रतिशत हकप्रद विक्री पश्चात पुनः २०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरेको छ ।आगामी माघ १६ गते हुने वार्षिक साधारणसभा बैंकले फेरि २०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव लैजाने भएको हो ।
हाल ६ करोड ५६ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १०० प्रतिशत हकप्रदपछि चुक्ता पूँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।
यसपछि पनि बैंकले फेरि १ः२ को अनुपातमा हकप्रद जारी गरी चुक्ता पूँजी ३९ करोड ३७ लाख रुपैयाँ पुर्याउने प्रस्ताव साधरण सभामा पेश गर्ने भएको हो ।