काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको संख्या पौने ३ लाख पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा भ्याटमा दर्ता भएको करदाताको संख्या २ लाख ७० हजार २०२ पुगेका छन्।
चालू आवको ५ महिनामा मात्रै १४ हजार ५३९ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा करिब २९ हजार करदाता भ्याटमा दर्ता भएका थिए ।
कोरोना भाइरसको प्रभावले परिस्थिति सहज हुन नसक्दा करको दायरा विस्तार समेत प्रभावित भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।
त्यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ४ हजार ७८४ पगुेको छ। चालू आवको मंसिरसम्ममा १० हजार ४९२ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा अन्तस् शुल्कमा दर्ता हुने करदाताको संख्या ३५ प्रशितले कम हो ।
मंसिरसम्म स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको कुल संख्या ३६ लाख ४१ हजार ३५९ पुगेको छ ।
यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १४ लाख ५९ हजार २, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ३६ हजार ६६६, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने ६ हजार ६९१ पुगेको छ ।