पप्पुले अलपत्र पारेको तीनकुने आर्क ब्रिजको रिटेन्डर हुँदै, ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा बन्ने

काठमाडौं । पप्पु कन्स्ट्रक्शनले अलपत्र पारेको तीनकुनेस्थित वाग्मती पुल (आर्क ब्रिज) रिटेन्डरको तयारी भइरहेको छ । ब्रिजको रिटेन्डरका लागि हाल सडक विभागसँग स्वीकृती लिने काम भइरहेको छ ।

 

सडक विभागले स्वीकृत गरे रिटेन्डरको काम चाँडै अघि बढ्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अघिकारी अशोक यादवले बताए ।

 

पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।

 

उनका अनुसार सो पुल ‘डिजाइन एण्ड बिल्ड’ (निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी भएको सम्झौता) का आधारमा निर्माण शुरू भएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने उनले बताए ।

 

‘ब्रिज बनाउनका लागि विभागबाट स्वीकृती आउन बाँकी छ, स्वीकृती पाएपछि पुरानै ढाचामा बनाउन रिटेन्डर गर्ने छौँ,’ यादवले चाणक्य पोष्टसँग भने । उनले हाल सो फाइल स्वीकृतका लागि सडक विभागमा रहेको भन्दै स्वीकृत भएर आए लगतै नयाँ ठेक्काको काम अघि बढ्ने बताए ।

 

सडक विभागका सूचना अधिकारी रमेश कुमार सिंहले भने त्यस विषयमा आफूलाई जानकारी नभएको जनाएका छन् । उनले सो विषयमा महानिर्देशककोमा फाइल जाने भएकाले आफूलाई त्यस विषयमा जानकारी नभएको बताएका हुन् ।

 

‘आर्क ब्रिज किाठमाडौं विस्तार आयोजना अन्तर्गतको हो, यस विषयमा महानिर्देशककोमा फाइल आएको होला, अहिलेसम्म मलाई जानकारी आएको छैन,’ सिंहले चाणक्य पोष्टसँग भने ।

 

निर्माण व्यवसायीको लापरवाही कारण सो पुल ६ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

 

उनले आर्क ब्रिजको नयाँ ठेक्का चालू आर्थिक वर्षभित्र गरिने बताए । पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।

 

पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।

 

आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरु गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो ।२१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।

 

पुलको अवस्था

 

यो पुलमा काम गर्ने क्रममा १६ वटा पायल मध्ये २ वटा पायल जमिनमा भासिएको देखिएको छ । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पप्पुलाई पत्र दिएको थियो । तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको छ । त्यसपछि सो पुल निर्माण गर्दा जोखिम बढ्ने हुँदा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्यो फेरी भत्काएर बनाउन निर्देशन दिएको थियो ।

 

पप्पुले सो निर्देशन पालना नगरेपछि उक्त पुलको काम अघि बढ्न सकेको थिएन । आयोजनाले बारम्बार पप्पुलाई निर्माण तोडेर नयाँ डिजाइनमा पुल बनाउन भने पनि पप्पुले अटेरी गरेको हो । पप्पुले फाउन्डेसन नमिलाई त्यस माथिनै थप काम गरेको थियो ।

सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी ५ कम्पनीका लगानीकर्ता भए मालामाल Read Previous

सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी ५ कम्पनीका लगानीकर्ता भए मालामाल

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक Read Next

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक