काठमाडौं । चाँबहिल–साँखु सडक खण्डमा यात्रा गर्नेले विगत ५ वर्षदेखि सास्ती भोग्दै आएका छन् । ठेकेदार कम्पनीले समयमै निर्माण पूरा नगर्दा वर्षायाम हिलाम्मे र हिउँदयाममा धुलाम्मे सडक हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि २०७२ मा ठेक्का लगाई काम शुरु भए पनि ठेकेदारले नियमित काम नगर्दा आम सर्वसाधरणले सास्ती व्यहोर्नु परेको हो ।
ठेकेदारको लापारबाही, स्थानीयको अवरोध, मुआब्जा विवाद, कोरोना लगायत कारण सडक विस्तारले गति लिन नसकेको हो ।
ठेकेदारको लापारबाही, स्थानीयको अवरोध, मुआब्जा विवाद, कोरोना लगायत कारण सडक विस्तारले गति लिन नसकेको हो । पटकपटक म्याद थपिए पनि ठेकेदार जवाफदेही भएर काम नगर्दा आम सर्वसाधरण सास्ती भोग्न बाध्य भएका हुन् ।
उपत्यका सडक विकास आयोजनाका अनुसार हालसम्म चाबहिल–साँखु सडक खण्ड अन्तर्गत ७० प्रतिशत हाराहारी निर्माण सम्पन्न भएको छ भने अझै ३० प्रतिशत हाराहारीमा काम बाँकी रहेको छ ।
उक्त सडकखण्डको साढे ८ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने अझै ४ किलोमिटरको हाराहारीमा सडक कालोपत्र गर्न बाँकी रहेको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा सो आयोजना अन्तर्गत चाबहिल चोकमा सडक कालोपत्र गर्ने काम पूरा भएको छ । आगामी फागुन महिना भित्र थलीका सडकहरु समेत कालोपत्र हुने गरी काम भइरहेको आयोजनाका सूचना अधिकारी अशोक यादवले बताए । उनले चालू आर्थिक वर्षभित्रै सबै आयोजनाहरु सम्पन्न हुने लक्ष्य सहित काम भइरहेको बताउँदै आगामी फागुनसम्म थलि सडक कालोपत्र हुने बताएका हुन् ।
‘थलीमा सब–बेस हाल्ने काम अन्तिम चरणमा रहेको छ, फागुन भित्र कालोपत्र पनि हुने छ,’ यादवले चाणक्य पोष्टसँग भने । उनले चाबहिल–साँखुका अधिकांश सडकहरुमा डीबीएम (पहिलो चरणको कालोपत्र) र सब–बेसको काम भइरहेकाले चाँडै कालोपत्र गरिने बताए ।
हालसम्म सडकमा कुल लगानीको ७० प्रतिशत बढी रकम खर्च भएको छ । १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ लगानीमा बन्दै गरेको सो सडक खण्डमा हालसम्म ९७ करोड रुपैयाँ खर्च भइसकेको छ ।
कोभिडका कारण बीचमा गति लिन नसकेको यस आयोजनाले पछिल्लो समय राम्रो प्रगति गरिरहेको यादवले बताए । उनले अबको चरणमा सडकका कामहरु तीव्र गतिमा भइरहेको तर, विद्युत प्राधिकरणले पोलहरु हटाउने काम नगर्दा समस्या सृजना भएको बताए ।
विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमलसिनाले त्यस विषयमा आफूसम्म कुनै जानकारी नआएको बताएका छन् । उनले सो विषयमा सम्बन्धित वितरण केन्द्रले जानकारी राख्ने भएकाले आफुसम्म कुरा नआएको बताए ।
‘यस्ता विषयमा धेरै ठाउँबाट पत्र आइरहेको हुन्छ, ठूला योजनाहरुको पत्र हामीसम् आउछ हैन भने त्यो सम्बन्धित जुन ठाउँ हो त्यसै क्षेत्रको विद्युत वितरण कार्यालयमा जान्छ,’ तिमलसिनाले चाणक्य पोष्टसँग भने ।
ठेकेदार कम्पनीले काम सके पछि पनि त्यसको १ वर्षसम्म सडक बिग्रे, भत्केको अवस्थामा ठेक्का कम्पनी आफैले बीना भुक्तानी मर्मत गर्नुपर्नेछ । सो सडकखण्ड निर्माणको जिम्मा ४ ठेकेदार कम्पनीले पाएका छन् । सो सडक कूल ११.६ किलोमिटर लम्बाइ रहेको छ ।
सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडाइमा चार लेनको सडक बनाउने योजना ल्याएको थियो । स्थानीयले सडक विस्तारका क्रममा घरहरु भत्काउन नदिएपछि यथास्थितीमा निर्माण गर्न लागिएको हो ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।