घरजग्गा कारोबारमा उछाल, यस कारण बढ्दै छ कारोबार

काठमाडौं । घरजग्गा कारोबारमा उछाल आएको छ । कोरोनाका कारण सुस्ताएको घरजग्गा कारोबार पछिल्लो समय अर्थतन्त्र चलायमान भएसँगै गति लिन थालेको हो ।

 

कोरोनाका कारण चैत यता ३ महिना ठप्प भएको घरजग्गा कारोबारले साउनदेखि क्रमशः गति लिएको हो । साउनमा करिब २० हजार हाराहारीमा घरजग्गा किनबेच भएकोमा ५ महिनामै त्यो करिब चार गुणाले बढेको छ ।

 

कोरोनाले शिथिल भएको अर्थतन्त्र क्रमशः चलायमान हुँदा जाँदा मानिसको आम्दानी बढ्दै जानु, बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो हुँदा सहजै र सस्तै ऋण पाइनु, सेयर बजारमा उछाल आउँदा त्यता कमाएको पैसा सुरक्षित गर्न घरजग्गामा गर्नु लगायत कारणले कारोबारमा उछाल आएको हो ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार पुस महिनामा मात्रै देशभर ७६ हजार ५३२ घरजग्गा किनबेच भएका छन् ।यो पुसको तुलनामा करिब ४  गुणा बढी हो । पुसमा मात्रै घरजग्गा कारोबार बापत ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजश्व अशुली भएको छ ।

 

विभागको तथ्यांक अनुसार हरेक महिना घरजग्गाको कारोबार बढ्दै गएको देखिएको छ । माघको पहिलो हप्तामा मात्रै करिब २० हजार बढी घरजग्गा किनबेच भइसकेको विभागले जनाएको छ ।

 

असोज मसान्तसम्म ३ महिना (साउन–असोज) अवधिमा कुल ५६ हजार ८३८ वटा घजग्गा किनबेच भएका थिए भने कात्तिक महिनामा मात्रै ५० हजार बढी घरजग्गा कारोबार भएका छन् ।

 

यसैगरी, मंसिरमा मंसिरमा ६१ हजार ४५१ घरजग्गा किनबेच भएको छ । सो कारोबार बापत ५ अर्ब १४ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

किन बढ्दै छ कारोबार ?

 

घरजग्गाको कारोबार बढ्नुको मुख्य कारण कोरोनाले शिथिल भएको अर्थतन्त्र क्रमशः चलायमान हुनु नै हो । कोरोनाले बन्द भएका उद्योगधन्दा, व्यवसाय पछिल्लो समयमा संचालनमा आउँदा मानिसको आयआर्जनमा वृद्धि हुँदै गएको छ ।

 

विश्वव्यापी रुपमा कोरोनाको खोप आइसकेकाले मानिसहरु आशावादी हुँदै गएका छन् । सबै किसिमको व्यापार व्यवसायले गति लिँदै गर्दा मानिसहरु व्यापार व्यवसायबाट कमाएको पैसा घरजग्गामा लगानी गर्न थालेका छन् । जसले हरेक महिना कारोबार बढ्दै गएको हो ।

 

यसैगरी, पछिल्लो समय बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो भएको छ । अहिले सहजै र सस्तो ब्याजदरमा ऋण पाइने भएकाले नियमित आम्दानी भएका मान्छेहरु ब्याज सस्तो भएको मौका छोपी घरजग्गा जोड्न थालेका छन् । जसले कारोबार बढ्न सहयोग पुगेको छ ।

 

यस्तै, पछिल्लो समय सेयर बजारले इतिहास रच्दै गएको छ । सेयर बजारबाट कमाएका व्यक्तिहरु आफ्नो कमाइ सुरक्षित गर्न घरजग्गामा लगानी गर्न थालेका छन् । सेयर बजारबाट कमाएको पैसा घरजग्गामा डाइभर्ट हुन थालेकाले यसको कारोबार बढेको जानकारहरु बताउँछन् ।

 

भाउ पनि अचाक्ली बढ्दै

 

घरजग्गाको कारोबारमा वृद्धि भएसँगै यसको भाउ पनि अचाक्ली बढ्न थालेको छ । घरजग्गाको माग बढेसँगै यसको भाउ पनि ह्वात्तै बढ्न थालेको हो ।

 

अहिले मुख्य गरी काठमाडौं उपत्यकाको रिङरोड बाहिरको क्षेत्रमा घरजग्गाको भाउ ह्वात्तै बढेको छ । रिङरोड बाहिरकै ठाउँहरुमा मानिसहरुको आकर्षण देखिएकाले माग बढ्दा घरजग्गाको भाउ पनि ह्वात्तै बढेको हो ।

 

बैना गरेको जग्गा पास नहुँदै भाउ बढेन् गरेको पाइएको छ । जग्गाको माग अधिक हुँदा दिनदिनै भाउ बढ्ने गरेको कारोबारमा संलग्न व्यक्तिहरु बताउँछन् ।एउटा भाउ फिक्स गरेर बैना गरेको जग्गा पास गर्ने बेला (करिब १ महिनाको अवधि) मै आनाको १/२ लाखसम्म बढ्ने गरेको उनीहरुको भनाइ छ ।

 

उपत्यकाका सूर्यविनायक, नलिञ्चोक, दुवाकोट, चाँगुनारायण, मुलपानी, थली, साँखु, टोखा, गोदावरी, लुभु, खोकना लगायत नयाँ सहर बन्दै गरेका स्थानमा धेरै घरजग्गा किनबेच हुने गरेका छन् ।

 

रिङरोड भित्रको ठाउँको तुलानामा खोजे अनुसार जग्गा पाउनु, , भाउ पनि केही सस्तो हुनु, मुख्य सहरभन्दा शान्त, धूलो, धूँवा कम हुनु, व्यवस्थित सडक, ढल लगायतको विकास हुनाले यी क्षेत्रमा मानिसको आकर्षण बढेको देखिन्छ ।

चाबहिल-साँखु सडकमा सधैं सास्ती, अझै ३० प्रतिशत काम बाँकी Read Previous

चाबहिल-साँखु सडकमा सधैं सास्ती, अझै ३० प्रतिशत काम बाँकी

माघ २३ देखि ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ आउँदै Read Next

माघ २३ देखि ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ आउँदै