निर्यातको १० गुणा बढी आयात : ६ महिनामा साढे ६ खर्बको सामान भित्रिँदा ६० अर्बको बाहिरियो

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।

 

भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

 

विभागको तथ्याङ्कअनुसार चालू आवको ६ महिनाको तथ्याङ्क अनुसार ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४.८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो ।

 

यसैगरी, ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६.१४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्क अनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ ।

 

हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्क अनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु छ अर्ब ४६ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो ।

 

चालू आवको ६ महिनाको तुलनामा पुस महिनामा मात्र १ खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले १ खर्ब ८७ अर्ब राजश्व सङ्कलन गरिसकेको छ । यो वर्ष विभागले ४ खर्ब ४० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

 

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड र असोज महिनामा १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी वस्तुका आयात भएको थियो ।

 

यसैगरी, कात्तिक महिनामा १ खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा १ खर्ब २३ अर्ब १करोड र पुस महिनामा सबैभन्दा धेरै १ खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ ।

 

५ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । ६ महिनामा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ ।

लघुवित्त र बीमा कम्पनी चम्किँदा नेप्सेले रच्यो इतिहास, यी २२ कम्पनीका लगानीकर्ता भए मालामाल Read Previous

लघुवित्त र बीमा कम्पनी चम्किँदा नेप्सेले रच्यो इतिहास, यी २२ कम्पनीका लगानीकर्ता भए मालामाल

अमेरिकी नयाँ राष्ट्रपतिले पदभार सम्हालेसँगै विश्व सेयर बजारमा किन आयो उछाल ? Read Next

अमेरिकी नयाँ राष्ट्रपतिले पदभार सम्हालेसँगै विश्व सेयर बजारमा किन आयो उछाल ?