अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएपछि बिहीबार विश्व सेयर बजारहरुमा उछाल आएको छ ।
राष्ट्रपति बाइडेनले कोरोना भाइरसको चपेटामा परेको अर्थतन्त्र उकास्न ठूलो आर्थिक सहायता प्याकेज घोषणा गर्ने विश्वासका आधारमा एशियाली सहित विश्व सेयर बजारहरुमा उछाल आएको हो ।
अमेरिकी कंग्रेसका रिपब्लीकन्सहरुले पनि १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज ल्याउन राष्ट्रपति बाइडेनसँग मिलेर काम गर्ने संकेत दिएको छ । अमेरिकी सिनेटमा डेमेक्र्याटहरुले पकड जमाएको भए पनि आर्थिक प्याकेजको कार्यक्रम स्वीकृत गर्नका लागि रिपब्लीकनहरुको सर्मथन जरुरी पर्छ ।
वाल स्ट्रिटमा रेकर्ड अंकमा बन्द भएपछि त्यसको प्रभाव एशियाली सेयर बजारमा पनि परको छ । अमेरिकामा सहज ढंगले सत्ता हस्तान्तरण भएको आर्थिक प्याकेज पनि घोषणा हुने वातावरण निर्माण भएको विषयलाई विश्व बजारले सकारात्मक रुपमा लिएको देखिएको छ ।
डेमोक्र्याटहरुको सिनेटमा रहेको नियन्त्रणले आर्थिक प्याकेजको संभावना मात्र बढाएको नभइ आकार पनि ठूलो हुने अनुमान लगानीकर्ताहरुले गरेका छन् । यसको मतलब विश्वका प्रमुख सेयर बजारहरु अझै धेरै माथि जाने र अब हामी उच्च सेयर मूल्यको युगमा प्रवेश गरेको लगानीकर्ताहरु बताउन थालेका छन् ।
चिनियाँ सेयर बजारको ब्लु चिप कम्पनीहरुको मूल्य १.२ प्रशिततले बढको छ भने अष्ट्रेलियन सेयर बजार ०.६९ प्रतिशतले बढेको छ । उता हङकङको सेयर बजारले ३० हजारको अंक पार गरेको छ, ०.३१ प्रतिशतले बढेर । यसैगरी जापानको निक्की ०.७२ प्रतिशतले बढेको छ ।
उता अमेरिकाको डो जोन्स इन्डस्ट्रियल एभरेज ०.८३ प्रतिशतले बढेको छ भने एस एण्ड पी ५०० १.३९ प्रतिशतले बढेको छ । नासडाक कम्पोजिट पनि १.९७ प्रतिशतले बढको छ ।
प्रविधि सम्बद्ध कम्पनीका सेयरमा पनि उछाल आएको छ । ओटिपी प्लेटर्फम नेटफिल्क्सको सेयर १७ प्रतिशतले बढको छ । गुगलको माउ कम्पनी अल्फाबेटको सेयर ५.३६ प्रतिशतले बढेको छ ।