काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।
गत बुधबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।
नेप्सेले २३१५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३०० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि बुधबार नेप्सेले इतिहासकै उच्च २२८५ विन्दु पार गरेको थियो ।
नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर ३१ खर्ब नाघेको छ । नेप्सेका अनुसार बजार पूँजीकरण ३१ अर्ब १८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।
आज सेयर बजार मापक सूचक नेप्से २८.४६ अंकले बढेर २३१५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँ बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र होटल समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २४२।५२ अंकले बढेको छ भने होटल समूह ५.३९ अंकले घटेको छ ।
कारोबारमा आएका २०८ कम्पनीमध्ये १३१कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ता नेपाल टेलिकमको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५८ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसी एशिया बैंक २३ करोड र सिभिल बैंक २० करोडसहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट ट्रेडिङ, गुराँस लघुवित्त, नारायणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
यसैगरी, आज आरम्भचौतारी लघुवित्त, किसान लघुवित्त, महिला सहयात्रा लघुवित्त, मल्टिप्रपोज फाइनान्स, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र एचआइडीसीएलको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बढ्दो बजारमा आज युनाइटेड फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.७१ प्रतिशत गुमाएका छन् ।