गाउँघरमा चुनावकोभन्दा सेयर बजारको चर्चा धेरै, डिम्याट र टीएमएस खाता खोल्नेको लर्को
हरि गजुरेल
प्रकाशित : 2:36 pm, आइतबार, माघ ४, २०७७

काठमाडौं । असंवैधानिक ढंगले संसद विघटन गरेर सरकारले चुनाव घोषणा गरेको छ । देशभर चुनावको माहोल बनाउन प्रधानमन्त्री र उनका मन्त्रीहरू देश दौडाहमा छन् । तर जनताले भने सरकारले भनेको समयमा चुनाव हुन्छ भनेर विश्वास गरेका छैनन् । वा, सरकारले चुनाव घोषणा गरेको चुनाव गर्नका लागि हुँदै होइन भनेर सचेत जनताले बुझेका पनि होलान् ।

 

बरु सामान्य जनताको ध्यान अहिले सेयरले तानेको छ । साउन यता कोरोना महामारीकै बीच नेपाली सेयर बजार बुल रनमा छ । नेप्से परिसूचक अहिलेसम्मै उच्च विन्दुमा छ । अलि अगाडि सेयर बजार पसेका लगानीकर्ताले मनग्गे कमाएको स्थिति छ । यसले समाजमा सेयर बजारको बारेमा निक्कै हल्लीखल्ली भएको छ । त्यसैले यसको तरङ्ग गाउँगाउँसम्म पुगिसकेको अनुभूति हुन थालेको छ ।

 

बिडम्वना, नागरिकमा आफ्नै ठाउँबाट सहजै सेयर कारोबार गर्ने चाहाना भए पनि नियामक धितोपत्र बोर्डको वेवास्ता, अक्षमता, गैह्रजिम्मेवारी र ब्रोकर कार्यालयहरुको सिन्डिकेटले गर्दा देशव्यापी ब्रोकरको शाखा विस्तार हुन सकेको छैन । वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन सरकारकै विभिन्न अध्ययन समितिले सिफारिस गरे पनि ब्रोकरको चलखेलमा बोर्डले त्यसलाई आलाटाल गर्दै आएको आरोप छ ।

 

अहिले डिम्याट खाताको संख्या नेपालमा २५ लाख पुगिसकेको छ । गत साउन महिनासम्म करिब करिब १८ लाख हाराहारी डिम्याट खाता भएकोमा अहिले २५ लाख पुगेको हो । यसको मतलब हरेक महिना करिब १ लाख हाराहारीले डिम्याट खातामा वृद्धि भइरहेको छ ।

 

प्राथमिक साधरण सेयर (आइपीओ)मा पनि आवेदन ह्वात्तै बढ्न थालेको छ । गत चैतमा आइपीओ जारी गरेको पुनर्बीमा कम्पनीको आइपीओमा ४ लाख ५० हजारले आवेदन दिएका थिए भने चन्द्रागिरी हिल्सको पछिल्लो आइपीओ आवेदन दिनेको संख्या १३ लाख नाघिसकेको छ । पुनर्बीमा कम्पनीको सेयर अहिले दोस्रो बजारमा प्रतिकित्ता १५ सय भन्दा बढीमा कारोबार भइरहेको छ । १०० रुपैयाँ प्रतिकित्ताको सेयर केही महिनामै १५०० नाघेको उदाहरण र दोस्रो बजारमा पनि कम्पनीहरूका सेयर मूल्य बढिरहेका कारण सेयरको तरङ्ग गाउँगाउँसम्म फैलिन पुगेको बुझ्न गाह्रो छैन ।

 

यसै सन्दर्भमा आर्थिक पत्रकार रमेश कुमार ट्वीटरमा लेख्छन्, ‘गाउँमा यौटा आश्चर्यजनक परिर्वतन आएछ, अलिकति पढालिखाहरू पूँजीबजारका खेलाडी रहेछन् । जमघटमा गफ गर्ने नयाँ विषय सेयरको मूल्य कति पुग्यो, कुनकुनको आइपीओ आउँदैछ भन्ने हुने रहेछ । कतिसम्म भने, कम्पनीको नाम होइन, नेप्सेको कोड भन्दा रहेछन् ।’

 

काठमाडौंको छिमेकी जिल्ला नुवाकोटमा पनि अहिले सेयर बजारको चर्चा गर्माएको स्थानीयहरू बताउँछन् । ‘तासका खालदेखि मेलापातमा सुस्ताउँदा समेत सेयरको कुरा हुन थालेको छ,’ बेलकोटगढी नगरकालिका १० का स्थानीय बाबु कँडेलले चाणक्य पोष्टसँग भने ।

 

‘अहिले काठमाडौंबाट मानिसहरू गाउँ आउँदा कुन कम्पनीको आइपीओ आउँदैछ भनेर गाउँलेहरू सोध्न थालेका छन्,’ स्थानीय राजन खतिवडाले भने, ‘अहिले इन्फ्रास्ट्रकचर बैंकको आइपीओ आएपछि मानिसहरूमा सेयर भर्ने पैसा कसरी जुटाउने भन्ने चिन्ता छाएको छ ।’

 

स्थानीय जनतामा सेयरप्रति चरम आकर्षण रहे पनि नुवाकोटमा अझै ब्रोकर कार्यालयका शाखा पुग्न सकेका छैनन् । मानिसहरू बैंकमा गएर आइपीओ हाल्छन् भने काठमाडौंको ब्रोकर कार्यालयमा फोन गरेर वा टीएमएसबाट कारोबार गर्छन् ।

 

यस्तै, उपत्यका नजिकैको अर्को जिल्ला दोलखाको पनि गाउँगाउँमा सेयरको चर्चा बाक्लै छ । शैलुङ गाउँपालीका–४, का हरिकृष्ण चौलागाईंले गत बिहीबार दोलखाको चरिकोट आएर दीपशिखा धितोपत्र कारोबार कम्पनीमा आएर टीएमएस खाता खोले । कुनै समय एक राजनीतिक दलका कार्यकर्ता समेत रहेका चौलागाईं भन्छन्,‘लामो समय राजनीतिक दलको कार्यकर्ता भएर हिँडियो, केही पार लागेन । नेताहरूले पनि निराशा मात्र दिए । अब सेयर कारोबार गर्ने सोच बनाएको छु । केही हुन्छ कि ?’

 

दीपशिखाले हालै दोलखाको सदरमुकाम चरिकोटमा शाखा कार्यालय स्थपना गरी सेवा प्रदान गरिरहेको छ । ‘अहिले हाम्रो ब्रोकरमा डिम्याट खाता खोल्ने, टीएमएस खोल्ने र सेयर बेच्नेको भीड लाग्ने गरेको छ,’ उक्त शाखाका एक कर्मचारीले भने, ‘सदरमुकाममा प्रायःजसो सबै बैंकहरु भए पनि सबै काम एकैठाउँमा हुने भएकाले सेवाग्राही यतै आउने गर्छन् ।’

 

ब्रोकर कार्यालयमा पछिल्लो समय व्यवस्थापन गर्नै मुश्किल हुनेगरी घुईंचो हुन थालेको ती कर्मचारीले चाणक्य पोष्टसँग भने । ‘पहिला आइपीओ भर्ने मात्र आउँथे भने अहिले दोस्रो बजारमा काराेबार गर्ने पनि बढेका छन् । मानिसहरू अब सेयर किन्न मात्र होइन, बेच्न पनि थालेका छन्,’ उनले भने ।

 

दोलखामा निर्माण भएका आधादर्जन बढी हाइड्रपावरको सेयर नेप्सेमा सूचीकृत छ । देशकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको सेयर सबै जिल्लाबासी प्रायः सबै व्यक्तिसँग भने अन्य आयोजनाको पनि सेयर उनीहरुसँग छ । हाल बजार पनि बढिरहेकाले सबैलाई सेयरप्रति आकर्षित गरेको उनको बुझाइ छ ।

 

भोट हाल्न अल्छी मानेर नजाने साधारण मानिसहरू समेत अहिले डिम्याट खोल्न र सेयर भर्न भने अल्छी नमानि सदरमुकाम धाउन थालेको स्थानीयको भनाइ छ ।

 

यी त केही प्रतिनिध उदाहरण मात्रै हुन् । पछिल्लो समय देशका सहरदेखि गाउँसम्म बस्ने सबैले सेयर बजारप्रति चासो राख्दै गएको र लगानी समेत गर्न थालेको तथ्यांकले नै देखाएको छ ।

 

बिडम्वना, नागरिकमा आफ्नै ठाउँबाट सहजै सेयर कारोबार गर्ने चाहाना भए पनि नियामक धितोपत्र बोर्डको वेवास्ता, अक्षमता, गैह्रजिम्मेवारी र ब्रोकर कार्यालयहरुको सिन्डिकेटले गर्दा देशव्यापी ब्रोकरको शाखा विस्तार हुन सकेको छैन ।

 

सरकारले सेयर बजार सम्बन्धी अध्ययन गर्न गठन गरेका विभिन्न समिति,उपसमित लगायतले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरे पनि ब्रोकरको चलखेलमा बोर्डले त्यसलाई आलाटाल गर्दै आएको आरोप छ ।