काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा एडीबीको तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभन विक र माछापुच्छ्रेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एशियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ ।
उक्त सम्झौता पश्चात एडीबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ ।
आफ्ना ग्राहकलाई विश्वसनीय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रेले एडीबीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।
स्थापना कालदेखि नै माछापुच्छ्रे बैंकले रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिबद्ध रहँदै आएको छ ।
बैंकले हाल देशभरका १६० वटा शाखाहरु, १५१ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।