विदेशबाट फर्किएका युवा कृषिमा आकर्षित हुँदै, कृषि कर्जा लिने १२ प्रतिशतले बढे

काठमाडौं । कोरोनाका कारण विदेशबाट फर्किएका युवा कृषि क्षेत्रमा लागेको पाइएको छ । युवाहरु कृषि क्षेत्रमा आकर्षित भएसँगै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा समेत उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको मंसिर मसान्तसम्ममा व्यावसायीक कृषिमा प्रवाह हुने कर्जा गतवर्षको तुलनामा १२ प्रतिशतले बढेको छ ।

 

राष्ट्र बैंकका अनुसार चालू आवको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा मात्रै करिब साढे २ खर्ब २१ रुपैयाँ लगानी गरेका छन् । गत वर्षको सोही अवधिमा बैंकहरुले कृषि क्षेत्रमा १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

 

यस्तै, सरकारले कृषिमा युवाहरुलाई आकर्षि गर्न ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत २८ हजार ७६८ जनाले ऋण लिएका छन् । सो अवधिसम्म कृषि क्षेत्रमा अन्तर्गत ६५ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ।

 

चालू आर्थिक वर्षमा सबै क्षेत्रमध्ये कृषि क्षेत्रमा कर्जा प्रवाह सबैभन्दा धेरै १२ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । कोरोनाका कारण उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट लगायत क्षेत्र फस्टाउन नसक्दा ती क्षेत्रमा हुने केही लगानीसमेत कृषिमा डाइभर्ट भएको जानकारहरु बताउँछन् ।

 

राष्ट्र बैंकका अनुसार चालू आवमा औद्योगिक उत्पादनतर्फ ३ प्रतिशत, निर्माण क्षेत्रतर्फ ३.७ प्रतिशत,  यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्र तर्फ ५.६ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्र तर्फ ५.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फ ९.२ प्रतिशतले कर्जा बढेको छ ।

 

वैदेशिक रोजगारबाट फर्किएका युवाहरु पछिल्लो समय कृषि क्षेत्रमा अकर्षित भएको पाइन्छ । युवाहरुको कृषि प्रति आकर्षण बढेसँगै कृषि कर्जा समेत चुलिएको छ ।

 

कोभिड १९ का कारण विदेशबाट फर्केका धेरै युवाहरु कृषि क्षेत्रमा लागि परेका छन् । कृषिमा लगानीकर्ता बढ्न थालेसँगै कृषि कर्जा लिने समेत बढेको राष्ट्र बैंकले जनाएको छ ।

 

साथै, पछिल्लो समय ठूला व्यावसायी घराना समेत कृषितर्फ आकर्षित हुँदै गएका छन् । कर्पोरेट हाउसहरुले समेत बैंकबाट ऋण लिएर लगानी गर्न थालेकाले कृषि क्षेत्रमा ऋण बढ्दै गएको हो ।

 

सरकारले व्यावसायीक कृषि गर्नेका लागि लगानी जुटाउन गाह्रो नहोस भनेर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जाको न्यूतम १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दिएको छ ।

 

वैदेशिक रोजगारबाट फर्केका लाखौँ नेपालीहरु कामदारहरु कृषि पेशामा लागेका छन् । भारतबाहेक झन्डै ५० लाख नेपालीहरू वैदेशिक श्रममा रहेको बताइन्छ ।

 

कोरोना महामारीका बीचमा कार्तिक महिनासम्मा विदेशबाट १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका थिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार सो अवधिमा १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका थिए । सो अवधिमा ३२ मुलुकबाट नेपाली फर्किएका थिए ।

मालपोतका कर्मचारीको बदमासी, जग्गाधनीलाई थाहै नदिइ ४ कठ्ठा जग्गा विक्री Read Previous

मालपोतका कर्मचारीको बदमासी, जग्गाधनीलाई थाहै नदिइ ४ कठ्ठा जग्गा विक्री

कोरानाको ९५ प्रतिशत खोप विश्वका १० देशको कब्जामा Read Next

कोरानाको ९५ प्रतिशत खोप विश्वका १० देशको कब्जामा