झापा । नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण शुरु भएको छ ।
काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख विमल आचार्यले बताए।
मेचीनगर नगरपालिका वडा नं ६ को सबैभन्दा अग्लो स्थानमा रहेको शिवालय मन्दिर परिसरमा शिलान्यास भएको भ्यूटावरको कूल लागत ४ करोड ५३ लाख ४७ हजार ३७० रहेको आयोजना प्रमुख इञ्जिनीयर कमलप्रसाद कोइरालाले जानकारी दिए ।
कनकाई इन्टरनेशनल बिल्डर्स प्रालीले निर्माण कार्यको ठेक्का पाएको छ । आयोजना प्रमुख कोइरालाका अनुसार २०७८ मङ्सिर २८ गते काम सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । निर्माणस्थल काँकडभिट्टाको नेपाल प्रवेशद्वारबाट २०० मिटरको दूरीभित्रै रहेको छ । काँकडभिट्टाकै सबैभन्दा अग्लो स्थान भएकाले त्यहाँ धेरै पहिलेदेखि नै आन्तरिक पर्यटक दृश्यावलोकनका लागि जाने गर्दथे ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को प्रदेश नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठले यहाँ निर्माण हुने भ्यूटावरबाट तराईको मनोरम फाँट मात्र नभएर इलामको हरियाली डाँडाकाँडा र भारतको दार्जीलिङ, सिलिगुडी र सिक्किमसम्मको दृश्यावलोकन गर्न सकिने सम्भावना व्यक्त गरे । ‘काँकडभिट्टा नेपाली पर्यटन क्षेत्रका लागि प्रमुख प्रवेशद्वार मध्येमा पर्दछ,’ नाटाका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘उनीहरुलाई घुमफिर गर्न र रमाउन मन लाग्दा भ्यूटावर महत्वपूर्ण ठाउँ बन्ने हाम्रो विश्वास छ ।’
प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले पर्यटन क्षेत्र कोभिड– १९ का कारण सुस्ताएको भए तापनि सो क्षेत्रलाई ब्युँझाउन प्रदेश सरकारले विगतमा विनियोजन गरेको सबै बजेट पर्यटनमै खर्च गर्ने नीति लिएको बताए।
झापामा यसअघि बुद्ध शान्तिको धारागोलामा ५ तले भ्यूटावर निर्माण भइसकेको छ भने दमकमा नेपालकै सबैभन्दा ठूलो भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको छ । मेचीनगर मुलुककै प्रवेश नाकामा रहेको शहर भएकाले यहाँ पर्यटकीय विकासका पूर्वाधारको निर्माणमा विगतदेखि नै जोड दिइँदै आएको छ ।
हाल काँकडभिट्टामा पर्यटकका लागि देवकोटा पार्क, पुष्पलाल–बिपी बाटिका, पातालगङ्गालगायतका केही रमणीयस्थल छन् । दश किलोमिटर वरपर चाहिँ ठूला पर्यटकीयस्थल रहेका छन् । बाहुनडाँगीमा मिनी माउन्टेन, बेंसीबजार र कृष्णथुम्की चर्चित पर्यटकीयस्थल हुन् भने बाँसबारी, कालिका, मागुरमाडी, खुट्टेडाँगी, निचाझोडी सिमसार क्षेत्रले वर्षेनी लाखौँ आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ ।
भ्यूटावरको निर्माण पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण भए तापनि पर्यटक लोभ्याउन प्रवेश विन्दुको शहर काँकडभिट्टालाई सफा, स्वच्छ, हरियाली र पर्यटकमैत्री बनाउन जरुरी रहेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीको धारणा छ । पर्यटकलाई लक्षित गर्दै काँकडभिट्टाको पाँच किलोमिटर वरपर ठूला होटल र रेस्टुरेन्टको स्थापना भइरहेका छन् । काँकडभिट्टामै दुई वटा र धुलाबारीको जोरसिमलमा एउटा क्यासिनो सञ्चालित छ ।
धुलाबारीको जोरसिमलमा होटल ‘मेची क्राउन’ नामक पाँच तारे सुविधा सम्पन्न होटल गत वर्षदेखि सञ्चालित छ । अब पूर्वीद्वार काँकडभिट्टाबाट प्रवेश गर्ने विदेशी पर्यटकले खान बस्नका लागि अन्तरराष्ट्रियस्तरको होटल सुविधा पाउन थालेका छन् । पर्यटकीय आकर्षणका लागि अर्को महत्वपूर्ण पूर्वाधार मानिएको हवाइसेवाको सुविधा चन्द्रगढी विमानस्थलले पूरा गर्दै आएको छ । हाल नियमितरुपमा चन्द्रगढी विमानस्थलबाट सात वटा उडान भइरहेका छन् ।रासस